श्रीहरि नेपालद्वारा ६ जिल्लामा १०० फलफूलका बिरुवा वितरण, वातावरण संरक्षणसँगै आत्मनिर्भरता अभियानलाई जोड

Breaking Nepal

सोमबार ,असार १५ , २०८३ १२:२६

विराटनगर / श्रीहरि सत्संग समिति नेपालको केन्द्रीय कार्यालय विराटनगरमा आयोजित विशेष कार्यक्रममा १०० वटा फलदार बिरुवा वितरण गरिएको छ । देवेनरा मून्दडा परिवारको सहयोगमा प्राप्त उक्त बिरुवा कोशी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण क्षेत्रमा रोपणका लागि पठाइएको हो ।

समितिका अनुसार सप्तरी, सिरहा, इलाम, झापा, सुनसरी र मोरङका गाउँहरूमा फलदार बिरुवा वितरण गरिएको छ भने अन्य जिल्लामा पनि क्रमशः बिरुवा पठाइनेछ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र ग्रामीण समुदायलाई दीर्घकालीन लाभ पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको समितिले जनाएको छ ।

कार्यक्रम श्रीहरि सत्संग समिति नेपालको राष्ट्रिय समिति अध्यक्ष भीखमचन्द सरलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा एकल श्रीहरि बनवासी विकास ट्रस्ट भारतका संरक्षक श्री विनोद अग्रवाल (सुरत) उपस्थित थिए ।

कार्यक्रममा राष्ट्रिय नगर समिति नेपालका अध्यक्ष घनश्याम कावरा, सचिव इ. प्रकाश भक्त जोशी, राष्ट्रिय समिति कोषाध्यक्ष शिवरतन जोशी, राष्ट्रिय समिति सदस्य भक्तिनाथ माझी, विराटनगर सम्भाग समिति अध्यक्ष महेशकुमार स्वर्णकार, भवानी शंकर बोहरालगायत विभिन्न नगरका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

देवेनरा मून्दडा परिवारको तर्फबाट वेनीगोपाल मून्दडासहित विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा सामाजिक उत्तरदायित्वअन्तर्गत संस्कार शिक्षा प्रमुख सुश्री बोदिया चौधरीलाई आत्मनिर्भर बनाउन एक थान सिलाइ मेसिनसमेत हस्तान्तरण गरिएको थियो ।

समितिले सामाजिक सेवा, वातावरण संरक्षण र सीप विकासमार्फत समुदायलाई सशक्त बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।