विराटनगरका १०६ माछा–मासु पसल अनुगमनमा, अधिकांशमा भेटियो लापरवाही

Breaking Nepal

सोमबार ,असार १५ , २०८३ १२:५२

विराटनगर / उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको माछा–मासु व्यवसायमा अझै पनि ठूलो लापरवाही देखिएको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा अधिकांश माछा–मासु पसलहरु स्वास्थ्य तथा सरसफाइका आधारभूत मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको पाइएको हो ।

शुद्ध, स्वस्थ र सुरक्षित खाद्य पदार्थ उपभोग गर्न पाउनु नागरिकको मौलिक अधिकार भए पनि विराटनगर क्षेत्रभित्र बिक्री वितरण भइरहेका माछा–मासुको गुणस्तर र व्यवस्थापनमा समस्या देखिएको महानगरको अनुगमन प्रतिवेदनले औंल्याएको छ ।

महानगरपालिकाको १९ वटै वडामा गरिएको अनुगमनका क्रममा १०६ वटा माछा–मासु पसल तथा व्यवसायको निरीक्षण गरिएको थियो । अनुगमन २०८२ चैतदेखि २०८३ जेठसम्म गरी २६ दिनसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको थियो ।

अनुगमनका क्रममा धेरैजसो पसलहरु अव्यवस्थित, फोहोर र दुर्गन्धित अवस्थामा सञ्चालन भइरहेको भेटिएको महानगरको कृषि तथा पशुपन्छी शाखाका प्रमुख हीरालाल यादवले जानकारी दिए । सार्वजनिक स्थान, सडक तथा नाली छेउमै खुला रुपमा मासु बिक्री गर्ने, पसल बाहिर नालीमाथि वा छेउमा कुखुरा राख्ने, वधस्थल र बिक्री कक्ष एउटै स्थानमा सञ्चालन गर्ने जस्ता कार्य भेटिएका छन् ।

त्यस्तै, मासु बिक्रीस्थलमा सिसा वा तारजालीको प्रयोग नगरेको, सरसफाइमा पर्याप्त ध्यान नदिएको, रोगी र स्वस्थ पशुपक्षी छुट्याउने व्यवस्था नभएको तथा मासु विक्रेता स्वयंको स्वास्थ्य र व्यक्तिगत सरसफाइ कमजोर रहेको समेत पाइएको प्रतिवेदनमा उल्लेख छ ।

कतिपय व्यवसायीले पसल दर्ता तथा नवीकरण नगरेको, ढक–तराजुको अनुमति नलिएको वा नवीकरण नगरेको तथा तौलमा समेत अनियमितता गरेको पाइएको छ । महानगरपालिकाले जारी गरेको पशु वधस्थल तथा माछा–मासु बिक्री वितरण व्यवस्थित गर्ने निर्देशिका २०५८ विपरीतका गतिविधि समेत भेटिएको अनुगमन टोलीले जनाएको छ ।

महानगरले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै अव्यवस्थित र गुणस्तरहीन माछा–मासु बिक्री नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको जनाएको छ । अनुगमनका क्रममा कमजोरी देखिएका व्यवसायीलाई निश्चित समयसीमा तोकेर सुधार गर्न निर्देशन दिइएको छ ।

अनुगमन टोलीले माछा, खसी, राँगा, सुंगुर, बंगुर तथा कुखुराको मासु बिक्री गर्ने व्यवसायलाई व्यवस्थित बनाउन निरन्तर निगरानी आवश्यक रहेको जनाएको छ ।

विराटनगरका प्रमुख बजार क्षेत्रहरु गुद्री, रानी, कञ्चनबारी, राजवंशी चोक, ढाँट, बरगाछीलगायत क्षेत्रमा विशेष अनुगमन गरिएको थियो । आगामी दिनमा पनि खाद्य स्वच्छता र उपभोक्ता हितलाई केन्द्रमा राखेर अनुगमनलाई थप प्रभावकारी बनाउने महानगरको यादवले जानकारी दिए ।