सुनको मूल्यमा फेरि गिरावट, एक सातामै ६ हजारभन्दा बढीले घट्यो

Breaking Nepal

सोमबार ,असार १५ , २०८३ १३:०९

काठमाडौं / नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन सोमबार सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि १५ रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँले घटिसकेको छ । गत सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ रहेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि निरन्तर घट्ने क्रममा रहेको छ । सोमबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३ सय १० रुपैयाँमा कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

एक साताअघि गत सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७३० रुपैयाँ रहेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग–आपूर्तिको प्रभावले नेपाली बजारमा सुनचाँदीको मूल्य प्रभावित हुँदै आएको व्यवसायीहरूले बताएका छन् ।