दुई वर्षअघिको किशोर मृत्यु प्रकरण : फाल्गुनन्द–७ का वडा अध्यक्ष कर्तव्य ज्यान मुद्दामा पक्राउ

Breaking Nepal

बुधबार ,असार २४ , २०८३ ०८:३०

विराटनगर / पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का वडा अध्यक्ष देउकुमार आङदेम्बे दुई वर्षअघि भएको एक किशोरको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका छन् । जिल्ला अदालत पाँचथरको पक्राउ अनुमति पश्चात् प्रहरीले उनलाई कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार फाल्गुनन्द गाउँपालिका–७ निवासी १५ वर्षीय टठेनहाङ आङदेम्बे २०८१ असार १४ गते वडा अध्यक्ष आङदेम्बेको घरमा मृत अवस्थामा फेला परेका थिए । उनी घरमा काम गर्दै आएका थिए । घटनाका बेला किशोर सुतेकै स्थानमा नाक र मुखबाट रगत बगेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनापछि मृतकका बुवा खेमबहादुर आङदेम्बेले सोही दिन ज्यान सम्बन्धी कसुरमा उजुरी दिएका थिए। त्यसपछि अनुसन्धान अघि बढे पनि पछिल्लो समय मृतककी आमा लालकुमारी चेम्जोङले २०८३ असार ८ गते वडा अध्यक्ष आङदेम्बेविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दर्ता गराएपछि अनुसन्धानले नयाँ दिशा लिएको हो ।

सोही जाहेरीका आधारमा जिल्ला अदालत पाँचथरले २०८३ असार १० गते पक्राउ अनुमति जारी गरेको थियो । अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले असार २३ गते फिदिम नगरपालिका–४ स्थित फिदिम बजारबाट आङदेम्बेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउपछि उनलाई जिल्ला अदालत पाँचथरमा उपस्थित गराइएको थियो। अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गर्ने अनुमति दिएको छ।

हाल आङदेम्बेलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी घटनाका सबै पक्षमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । दुई वर्षअघि भएको किशोरको मृत्यु प्राकृतिक थियो वा आपराधिक घटनासँग सम्बन्धित थियो भन्ने विषयमा प्रहरीले थप प्रमाण संकलन तथा अनुसन्धानलाई तीव्र बनाएको छ ।