२५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काटिने, नयाँ रेडियो कलर जडान गरिने

Breaking Nepal

बुधबार ,असार २४ , २०८३ १२:०९

चितवन– २५ जनाको ज्यान लिइसकेको ‘ध्रुवे’ नामक जङ्गली हात्तीलाई नियन्त्रणमा लिएर बेहोस बनाइ दाह्रा छोट्याउने र नयाँ रेडियो कलर जडान गर्ने तयारी गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार हात्ती भेटिनेबित्तिकै ‘डार्ट’ गरी बेहोस बनाइनेछ। त्यसपछि दाह्रा काटेर नयाँ रेडियो कलर लगाइनेछ, जसबाट हात्ती बस्तीतर्फ प्रवेश गर्दा समयमै सूचना प्राप्त हुनेछ।

गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। सो घटनापछि हात्तीको निरन्तर निगरानी भइरहेको निकुञ्जले जनाएको छ।

ध्रुवेले यसअघि पनि पटक–पटक मानवमाथि आक्रमण गर्दै हालसम्म २५ जनाको ज्यान लिइसकेको छ। २०७४ सालपछि झन्डै नौ वर्षको अन्तरालमा यसले पुनः मानवहत्या गरेको हो।

निकुञ्जका अनुसार ध्रुवेको घाँटीमा यसअघि जडान गरिएको रेडियो कलर प्रभावकारी नभएकाले नयाँ उपकरण जडान गर्न लागिएको हो। साथै, हात्तीले क्षति पुर्‍याएको घर पुनर्निर्माणका लागि निकुञ्ज, विपद् व्यवस्थापन समिति र सम्बन्धित निकायले समन्वय गरिरहेका छन्।