सरकारको १०० दिन असफल, जनतालाई खुसी हुने काम भएन : केपी ओली

Breaking Nepal

बिहीबार ,असार २५ , २०८३ १६:३९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा जनतालाई राहत वा खुसी हुने कुनै उल्लेखनीय काम गर्न नसकेको आरोप लगाएका छन्।

बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे। उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै जनताले पछिल्लो १०० दिनमा उपलब्धिभन्दा निराशा बढी भोग्नुपरेको बताए।

देशमा खुसी हुने वातावरण नै नरहेको उल्लेख गर्दै उनले व्यंग्यात्मक रूपमा राति अबेरसम्म विश्वकप फुटबल हेर्नु बाहेक खुसी हुने अर्को अवसर नरहेको बताए। सरकारलाई उम्लिरहेको दूधसँग तुलना गर्दै उनले सरकारको व्यवहार अस्थिर, जिम्मेवारीबोधविहीन र यथार्थबाट टाढिएको आरोप लगाए।

अध्यक्ष ओलीले प्रधानमन्त्री वा मन्त्रीहरूको आलोचना गर्दा समेत पक्राउ पर्ने अवस्था सिर्जना भएको दाबी गर्दै अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब बढेको टिप्पणी गरे। उनले सरकारको मूल्यांकन गर्ने जिम्मा अन्ततः जनता र सञ्चारमाध्यमकै हातमा रहेको बताए।

एमाले सकिएको भन्ने टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले एमाले समाप्त हुन नभई देश निर्माण र विकासका लागि स्थापना भएको पार्टी भएको दाबी गरे।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डि.बी. कार्कीसहित ६ जना केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले एमालेमा स्वागत गरेका थिए।