राहदानी विभागमा आत्मदाह प्रयास गर्ने युवाको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जल्यो

Breaking Nepal

बिहीबार ,असार २५ , २०८३ १६:५१

काठमाडौं– त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। उनको काठमाडौंस्थित वीर अस्पतालमा सघन उपचार भइरहेको छ।

उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको छ। अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा गम्भीर जलन भएकाले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा सार्ने तयारी गरिएको छ।

अहिले आकस्मिक कक्षमा आवश्यक प्राथमिक उपचार, औषधि तथा विभिन्न परीक्षण पूरा गर्ने काम भइरहेको र एनेस्थेसिया टोलीसँग समन्वय गरेर आईसीयूमा भर्ना गर्ने प्रक्रिया अघि बढाइएको दाहालले बताए।

उनका अनुसार बिरामी बोल्न सक्ने अवस्थामा भए पनि समग्र स्वास्थ्य अवस्था अझै संकटपूर्ण छ। जलनका कारण हुन सक्ने जटिलतालाई ध्यानमा राख्दै चिकित्सकको निरन्तर निगरानीमा उपचार भइरहेको छ।

चिकित्सकका अनुसार शरीरको ठूलो भाग जलेका बिरामीमा संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा तरल पदार्थको कमी तथा मिर्गौला र अन्य अंगमा असर पर्ने जोखिम उच्च हुन्छ। त्यसैले यस्ता बिरामीका लागि प्रारम्भिक २४ देखि ७२ घण्टालाई उपचारको दृष्टिले सबैभन्दा संवेदनशील अवधि मानिन्छ।

राहदानी विभाग परिसरमै आत्मदाहको प्रयास गरेका नेपालीलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो। घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।