गुणस्तरहीन भेटिए दुई औषधि, विभागद्वारा बिक्री रोक्का र बजारबाट फिर्ता गर्न निर्देशन

Breaking Nepal

बिहीबार ,असार २५ , २०८३ १७:१४

काठमाडौं / औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा गुणस्तर मापदण्ड पूरा नगरेका दुई प्रकारका औषधिको बिक्री–वितरण तत्काल रोक्न र बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

विभागले बिहीबार जारी गरेको सूचनाअनुसार राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा सम्बन्धित ब्याचका औषधि तोकिएको गुणस्तरमा नपुगेपछि औषधि ऐन, २०३५ को दफा १४ बमोजिम ‘रिकल’ प्रक्रिया अघि बढाइएको हो।

फिर्ता गर्न निर्देशन दिइएका औषधिमा एग्लोसेफ १ ग्राम (Ceftriaxone Injection) र एडोक्सी (Doxycycline Capsules) रहेका छन्।

विभागका अनुसार एग्लोसेफ १ ग्रामको ब्याच नम्बर N-452501 हो। सन् २०२५ को अप्रिलमा उत्पादन गरिएको उक्त औषधिको म्याद सन् २०२७ को सेप्टेम्बरसम्म रहेको छ। परीक्षणका क्रममा यो औषधि ब्याक्टेरियल एन्डोटक्सिन (Bacterial Endotoxin Test) मा भारतीय औषधि मापदण्ड–२०२२ अनुरूप नभेटिएको विभागले जनाएको छ।

यस्तै, एडोक्सी क्याप्सुलको ब्याच नम्बर C-81060 रहेको छ। सन् २०२४ को डिसेम्बरमा उत्पादन भएको र सन् २०२६ को नोभेम्बरसम्म म्याद रहेको उक्त औषधि तौलको एकरूपता (Uniformity of Weight) परीक्षणमा तोकिएको मापदण्ड पूरा गर्न असफल भएको विभागको भनाइ छ।

एग्लोसेफ १ ग्राम भारतस्थित एग्लोमेड लिमिटेडले उत्पादन गरेको हो भने नेपालमा शुभलाभ फार्मा लिंक, वीरगञ्जले आयात गरेको छ। एडोक्सी भने एपेक्स फर्मास्युटिकल्स प्रालि, वीरगञ्जद्वारा उत्पादित औषधि हो।

विभागले सम्बन्धित उत्पादक, आयातकर्ता, वितरक, स्वास्थ्य संस्था तथा औषधि व्यवसायीलाई ती ब्याचका औषधि तत्काल बिक्री–वितरण बन्द गरी मौज्दात बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। साथै सर्वसाधारणलाई पनि ती ब्याच नम्बरका औषधि प्रयोग नगर्न र आवश्यक परे सम्बन्धित विक्रेता वा स्वास्थ्य संस्थामा फिर्ता गर्न आग्रह गरेको छ।