Breaking Nepal

विराटनगर / नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले कोशी अस्पताल परिसरबाट प्रदेशिक रक्तसञ्चार सेवा हटाउन दिइएको निर्देशनप्रति गम्भीर आपत्ति जनाएको छ । सेवा अवरुद्ध भए दैनिक सयौं बिरामीको उपचार प्रभावित हुने भन्दै रेडक्रसले तत्काल निर्णय पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
मोरङ शाखाले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी वितरित विज्ञप्तिअनुसार कोशी अस्पतालले २०८३ असार ५ गते सात दिन र असार २२ गते १५ दिनभित्र रक्तसञ्चार सेवा सञ्चालन भइरहेको स्थान खाली गर्न निर्देशन दिएको छ । रेडक्रसले यस्तो निर्णयले प्रदेशकै प्रमुख रक्तसञ्चार सेवाको निरन्तरतामाथि प्रश्न उठाएको जनाएको छ ।
शाखाका अध्यक्ष सुकदेव मण्डलले रक्तसञ्चार सेवा कुनै संस्थाको मात्र नभई आम नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक स्वास्थ्य सेवा भएकाले यसको सञ्चालनमा कुनै अवरोध आउन नहुने बताए । उनका अनुसार दैनिक एक सयभन्दा बढी बिरामीले यही सेवामार्फत सुरक्षित र गुणस्तरीय रगत प्राप्त गर्दै आएका छन् । सेवा प्रभावित भए आकस्मिक शल्यक्रिया, सुत्केरी, दुर्घटना, क्यान्सर तथा अन्य गम्भीर अवस्थाका बिरामीको उपचारमा प्रत्यक्ष असर पर्ने उनले उल्लेख गरे ।
‘रक्तसञ्चार सेवा मानवताको सबैभन्दा संवेदनशील सेवा हो । यसलाई विस्थापित गर्नेभन्दा अझ व्यवस्थित र सुदृढ बनाउनेतर्फ सबै पक्षले ध्यान दिनुपर्छ,’ अध्यक्ष मण्डलले भने, ‘सरकार, स्थानीय तह, स्वास्थ्य निकाय र सरोकारवालाले दीर्घकालीन समाधानका लागि आवश्यक जग्गा उपलब्ध गराएर आफ्नै भवन निर्माणमा सहयोग गर्नुपर्छ ।’
रेडक्रसका अनुसार वि.सं. २०३८ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय मातृकाप्रसाद कोइरालाले स्थापना गरेको उक्त रक्तसञ्चार सेवा हाल कोशी अस्पतालको सानो कोठाबाट सञ्चालन हुँदै आएको छ । चार दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको यस सेवाबाट लाखौं बिरामी लाभान्वित भइसकेका छन् ।
शाखाले आर्थिक रूपमा कमजोर बिरामीलाई रगत सेवा शुल्कमा ५० प्रतिशतसम्म सहुलियत प्रदान गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि सेवा निरन्तर सञ्चालनका लागि आवश्यक वातावरण बनाउन सरकार, स्थानीय तह, नागरिक समाज तथा सबै सरोकारवालासँग सहयोगको अपिल गरिएको छ ।
रेडक्रसले रक्तसञ्चार सेवा कुनै विकल्प नभएको अत्यावश्यक स्वास्थ्य सेवा भएकाले यसको निरन्तरता सुनिश्चित गर्नु राज्य, स्वास्थ्य संस्था र समाज सबैको साझा दायित्व भएको उल्लेख गर्दै मानवताको सेवामा सबै पक्ष एकजुट हुन आग्रह गरेको छ ।