सहिद भीमनारायण श्रेष्ठको ८९औँ जन्मजयन्तीमा धनकुटामा श्रद्धाञ्जली र वृक्षारोपण

Breaking Nepal

बिहीबार ,असार २५ , २०८३ १८:५२

धनकुटा / सहिद भीमनारायण श्रेष्ठको ८९औँ जन्मजयन्तीका अवसरमा सहिद भीमनारायण स्मृति प्रतिष्ठान, धनकुटाले श्रद्धाञ्जली तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

प्रतिष्ठानले धनकुटा नगरपालिका–६ स्थित सहिद भीमनारायण श्रेष्ठ चोकमा रहेको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो । कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, सहिद पुत्र मनोज नारायण श्रेष्ठ, जिल्ला सचिव विजय सन्तोष राई, प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, महासचिव रोशन श्रेष्ठ, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्रबहादुर लिम्बु, नेपाली कांग्रेस धनकुटा नगरका नेता नरेश श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष धनकुमार राई, वडा नम्बर ६ का अध्यक्ष मिलनकुमार खड्की, क्षेत्रीय प्रतिनिधि प्रकाश श्रेष्ठ, पूर्व वडा सभापति वीरेन्द्रलाल श्रेष्ठ, पूर्व वडा सदस्य लक्ष्मण खड्का, वडा सचिव रमेश शाक्य तथा अन्य स्थानीयको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति राईले भीमनारायण श्रेष्ठले प्रजातन्त्र, देश र जनताको हितका लागि जीवन बलिदान दिएको बताए । जिल्ला सचिव विजय सन्तोष राईले श्रेष्ठको राजनीतिक योगदान र जीवनयात्राबारे प्रकाश पारे ।

जन्मजयन्तीकै अवसरमा धनकुटा–६ को कचिडीस्थित सहिद भीमनारायण स्मृति प्रतिष्ठान भवन परिसरमा वृक्षारोपण कार्यक्रमसमेत आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा विभिन्न प्रजातिका फूल तथा अन्य बिरुवा रोपिएको थियो ।

भीमनारायण श्रेष्ठ नेपाली कांग्रेस धनकुटाका तत्कालीन नेता थिए । राजा वीरेन्द्र विराटनगर भ्रमणमा रहेका बेला बम प्रहार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो। लामो जेल यातनापछि २०३५ साल माघ २६ गते कोसी टप्पुको जंगलमा लगेर गोली हानी हत्या गरिएको थियो ।

लोकतन्त्र र जनअधिकारका लागि दिएको योगदानको सम्मानस्वरूप नेपाल सरकारले २०७२ साल फागुन १९ गते श्रेष्ठलाई सहिद घोषणा गरेको थियो । उनको जन्म १९९४ साल असार २४ गते धनकुटामा भएको थियो ।