जेनजी आन्दोलनको क्षतिबाट उठ्यो विराटनगर भाटभटेनी, आगजनीको ११ महिनापछि असार २७ देखि सेवा सुरु

Breaking Nepal

बिहीबार ,असार २५ , २०८३ १९:१७

विराटनगर /  गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र व्यापक तोडफोडबाट पूर्ण रूपमा ध्वस्त बनेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट करिब ११ महिनापछि पुनः सञ्चालनमा आउने भएको छ । पुनर्निर्माण, मर्मतसम्भार र आधुनिक सुरक्षा पूर्वाधारसहित तयार पारिएको स्टोर आगामी असार २७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको हो ।

पुनः सञ्चालनको तयारीस्वरूप केही दिनअघि सुपरमार्केट परिसरमा पूजा तथा गृहप्रवेश कार्यक्रम सम्पन्न गरिएको थियो । अहिले बिक्री कक्षमा सामग्री व्यवस्थापन, विभागगत समन्वय, सूचना प्रणाली परीक्षण तथा सेवा सञ्चालनका अन्तिम तयारी तीव्र रूपमा भइरहेको व्यवस्थापनले जनाएको छ । सम्पूर्ण तयारी पूरा गरी उद्घाटनसँगै नियमित सेवा सुरु गरिनेछ ।

भाटभटेनीकी निर्देशक सावित्री घले गुरुङले पुनर्निर्माणमा संलग्न मजदुर, प्राविधिक र कर्मचारीको योगदानका कारण विराटनगर शाखालाई निर्धारित समयमै पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताइन् । पुनर्निर्माणमा निरन्तर खटिएका करिब ३०० मजदुरलाई सम्मानस्वरूप खादा ओढाएर नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।

गत वर्ष भदौ २४ गते भएको आन्दोलनका क्रममा विराटनगर भाटभटेनीमा आगजनी भएपछि भवन, विद्युतीय प्रणाली, फर्निचर, गोदाम, बिक्रीका सामग्री तथा अधिकांश संरचना पूर्ण रूपमा नष्ट भएका थिए । त्यसपछि कम्पनीले क्षतिग्रस्त संरचनाको सामान्य मर्मतमा सीमित नरही आधुनिक सुरक्षा प्रणाली, अत्याधुनिक विद्युतीय पूर्वाधार, अग्नि नियन्त्रण प्रणाली, निगरानी संयन्त्र तथा ग्राहकमैत्री डिजाइनसहित स्टोरलाई पुनर्निर्माण गरेको जनाएको छ ।

निर्माण अवधिभर करिब ३ सय मजदुर, प्राविधिक तथा कर्मचारी निरन्तर खटिएका थिए । उनीहरूको निरन्तर मेहनतका कारण करिब ११ महिनामै स्टोर पुनः सञ्चालनयोग्य अवस्थामा पुगेको हो ।

जेनजी आन्दोलनका क्रममा देशभर रहेका भाटभटेनीका २८ शाखामध्ये १२ वटा पूर्ण रूपमा ध्वस्त भएका थिए भने अन्य ९ वटा शाखामा आगजनी, तोडफोड, लुटपाट तथा व्यापक भौतिक क्षति पुगेको थियो । कम्पनीका अनुसार उक्त घटनाबाट करिब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।

आन्दोलनका क्रममा विभिन्न स्थानस्थित भाटभटेनी परिसरभित्र आगलागीपछि जलेको अवस्थामा शवसमेत फेला परेका घटनाले परिस्थिति झन् दुःखद र संवेदनशील बनेको थियो । ती घटनाले आन्दोलनको हिंसात्मक स्वरूप र त्यसबाट उत्पन्न मानवीय तथा आर्थिक क्षतिको गम्भीरता उजागर गरेको थियो ।

यति ठूलो क्षति बेहोरे पनि कम्पनीले कर्मचारी कटौती नगर्ने, प्रभावित सबै शाखा क्रमिक रूपमा पुनर्निर्माण गरेर पुनः सञ्चालनमा ल्याउने नीति लिएको थियो । विराटनगर शाखा पुनः सञ्चालनमा आएपछि आन्दोलनबाट प्रभावित शाखामध्ये सञ्चालनमा फर्किने यो आठौँ शाखा बन्ने शाखा प्रमुख पर्शुराम तिम्सिनाले बताए ।

व्यवस्थापनका अनुसार झापाको बिर्तामोडस्थित भाटभटेनी शाखाको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको छ र त्यसलाई पनि छिट्टै सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । हाल देशभर रहेका कम्पनीका २८ शाखामार्फत १० हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

विराटनगर शाखाको पुनः सञ्चालनले कम्पनीको व्यापारिक सञ्जाल विस्तारलाई मात्र होइन, स्थानीय रोजगारी, आपूर्ति प्रणाली र उपभोक्ता सेवाको पुनःस्थापनालाई समेत नयाँ गति दिने अपेक्षा गरिएको छ । साथै, विपत्तिपछि व्यवसाय पुनःउत्थान गर्न निजी क्षेत्रको क्षमता र प्रतिबद्धताको उदाहरणका रूपमा पनि यसलाई हेरिएको छ ।