Breaking Nepal

विराटनगर / संविधानको रक्षा र कार्यान्वयन नेपाली कांग्रेसले मात्रै गर्न सक्ने विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
संविधान दिवसका अवसरमा नेपाली कांग्रेस मोरङले आयोजना गरेको विचार गोष्ठीमा बोल्ने वक्ताहरुले संविधानको रक्षा र पूर्ण कार्यान्वयन कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेस बिना संविधान र लोकतन्त्र संस्थागत हुन नसक्ने दाबी गरे । उनले लोकतन्त्रका लागि लामो संघर्ष गरेको व्यक्ति राष्ट्रपति भएकै कारण संविधान र लोकतन्त्र जोगिएको स्पष्ट पारे ।
उनले अब पार्टीभित्र शुद्धीकरण जरुरी रहेको समेत बताए । युवापुस्ताको मनोभावना बुझेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । ‘जेनजी पुस्ताले के चाहिरहेको छ, त्यसलाई बुझ्न जरुरी छ,’ अर्यालले भने, ‘जेनजीलाई समेत साथैमा लिएर अगाडि बढे मात्रै पार्टी बलियो हुन्छ ।’
त्यस्तै कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापाले पार्टीलाई एकढिक्का बनाएर आगामी चुनावमा एक्लै सरकार बनाउने अवस्थामा पुर्याउनुपर्नेमा जोड दिए । थापाले नङ र मासुको सम्बन्ध जस्तै कांग्रेस र लोकतन्त्रको सम्बन्ध रहेको बताए । उनले कांग्रेसबिनाको लोकतन्त्र कल्पनासमेत गर्न नसकिने उल्लेख गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य भीम पराजुली, मोरङ सभापति डिगबहादुर लिम्बू, मोरङ कांग्रेसका वरिष्ठ नेता वसन्त भट्टराई, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार, वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्की, विनय दाहाललगायतले लोकतन्त्रलाई बलियो बनाउँदै संविधानको पूर्ण कार्यान्वयनमा जोड दिए ।