काबुलमा श्रृंखलाबद्ध विस्फोट, आकाशमा चम्किएको उज्यालोले हवाई हमलाको आशंका

Breaking Nepal

शुक्रबार ,आश्विन २४ , २०८२ ०९:०७

काठमाडौ‌ं / अफगानिस्तानको राजधानी काबुलमा बिहीबार राति श्रृंखलाबद्ध विस्फोट र गोलीका आवाजहरू सुनिएका छन् । स्थानीय समयअनुसार राति करिब ९ः५० बजेका ती विस्फोटले सहरका विभिन्न भागहरू हल्लिएका थिए । आकाशमा देखिएको उज्यालोका कारण अज्ञात विमानद्वारा हवाई हमला भएको आशंका गरिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडियोहरूमा आकाशमा चम्किएको प्रकाश देखिएपछि पाकिस्तानी लडाकु विमानले तालिबान विरुद्ध हमला गरेको अपुष्ट दाबीहरू भइरहेका छन्। तर, अहिलेसम्म कुनै पनि पक्षले आधिकारिक पुष्टि गरेका छैनन् ।

तालिबान प्रशासनका प्रवक्ता जबिहुल्लाह मुजाहिदले घटनाको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएका छन्। उनले ‘एक्स’मार्फत लेखेका छन्, “कसैले पनि चिन्ता लिनु पर्दैन, अवस्था सामान्य छ ।” उनले हालसम्म मानवीय क्षतिको खबर नआएको पनि बताएका छन्।

घटनाक्रम त्यस्तो बेला भएको हो जब तालिबानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी भारतको ६ दिने भ्रमणमा छन्। सन् २०२१ मा तालिबानले सत्ता लिएपछि वरिष्ठ नेताको भारत भ्रमण यो पहिलो हो ।

यता, पाकिस्तान र अफगानिस्तानबीचको पछिल्लो तनावका बीच यो विस्फोटलाई विश्लेषण गरिएको छ । पाकिस्तानले तालिबान प्रशासनमाथि टीटीपी लडाकूहरू हटाउन आर्थिक माग राखेको आरोप लगाउँदै आक्रोश पोख्दै आएको छ ।

काबुलका अधिकारीहरूले विस्फोटको कारणबारे औपचारिक विवरण अझै सार्वजनिक गरेका छैनन्। घटनाबारे अनुसन्धान जारी छ ।