Breaking Nepal

काठमाडौं / चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नेपालमा वस्तु तथा सेवा आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार असारदेखि असोजसम्मको अवधिमा देशले चार खर्ब ६८ अर्ब आठ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १९.८ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले तीन खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको आयात गरेको थियो ।
त्यस्तै, निर्याततर्फ पनि ठूलो उछाल आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३८ अर्ब ३७ करोड रुपैयाँभन्दा ८९.६४ प्रतिशतले बढी हो ।
यसरी, पहिलो त्रैमासमा नेपालले कुल पाँच खर्ब ४० अर्ब ८६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ, जुन अघिल्लो वर्षको चार खर्ब २९ अर्ब १३ करोड रुपैयाँको व्यापारभन्दा बढी हो ।
तर, व्यापार घाटा पनि बढ्दै गएको छ । समीक्षा अवधिमा व्यापार घाटा करिब १२.१८ प्रतिशतले वृद्धि हुँदै तीन खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा तीन खर्ब ५२ अर्ब रुपैयाँ थियो ।
आयातमा पेट्रोलियम पदार्थ प्रमुख खर्च तत्व बनेको छ। चालु वर्षको पहिलो त्रैमासमा नेपालले पेट्रोलियम पदार्थको आयातमा ६६ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । निर्याततर्फ, सोयाविन तेल मुख्य वस्तु बनेको छ, जसको निर्यात रकम ३० अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
विशेषज्ञहरूका अनुसार, व्यापार घाटाको वृद्धिले दीर्घकालीन आर्थिक सन्तुलनमा असर पार्न सक्छ । त्यसैले आयात–निर्यातको प्रभावकारी व्यवस्थापन र मूल्यवृद्धि नियन्त्रण आवश्यक रहेको बताएका छन् ।