Breaking Nepal

काठमाडौं / नयाँ राजनीतिक मोर्चाको रूपमा ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ औपचारिक रूपमा घोषणा भएको छ।
आइतवार राजधानीमा आयोजित कार्यक्रममार्फत पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मासम्बद्ध प्रगतिशील राष्ट्रिय अभियान तथा राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेका सन्तोष परियारबीचको एकता प्रक्रियालाई पूर्णता दिँदै नयाँ पार्टी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा डा. भट्टराईले पार्टीको नाम सार्वजनिक गर्दै आफू अभिभावक भूमिकामा रहने जानकारी दिएका छन्। नयाँ पार्टीले १५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरिसकेको छ । दुर्गा सोबको नाममा पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको आयोजकहरूले जानकारी दिए ।
पार्टीको मार्गदर्शक सिद्धान्त ‘प्रगतिशील समाजवाद’ रहने उल्लेख गर्दै नेताहरूले संगठन समावेशीता र सामूहिक नेतृत्वको आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन चिह्नका रूपमा ‘आँखा’ चयन गरिएको छ।
सन्तोष परियारका अनुसार नवगठित पार्टी वैचारिक स्पष्टता, सुशासन र समाजिक रूपान्तरणलाई प्राथमिकतामा राख्दै राजनीतिक वैकल्पिक शक्ति निर्माणमा केन्द्रित हुनेछ ।