गोवाको नाइट क्लबमा मृत्यु हुने झापाका दुई युवाको पहिचान

Breaking Nepal

बुधबार ,मंसिर २४ , २०८२ ०८:०५

विराटनगर / भारतको पर्यटकीय गन्तव्य गोवामा शनिबार मध्यरात भएको आगलागीमा परेर ज्यान गुमाउने पाँच नेपालीमध्ये झापाका दुई युवा भएको पुष्टि भएको छ । आगलागीमा ज्यान गुमाउनेमध्ये झापा भद्रपुर र कचनकवलका दुई युवाको पहिचान खुलेको छ । जबकि अन्य तीन नेपालीको नाम सार्वजनिक हुन बाँकी छ।

भद्रपुर नगरपालिका–३, गोलेचोकका सविन खाती र कचनकवल गाउँपालिका–बगान नयाँ बजारका १९ वर्षीय सुदीप गुरुङको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । तिहारपछि होटल म्यानेजमेन्ट अध्ययनका लागि गोवा पुगेका सुदीप र क्लबमा सेफका रूपमा कार्यरत सविन दुवै आगलागीमा परेर ज्यान गुमाएका हुन् । सुदीपको निधनबारे भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले समेत पुष्टि गरेका छन् ।

भीडभाडका बीच आगो तीव्र फैलियो
भारतीय सुरक्षा निकायका अनुसार नाइट क्लबमा फायर–शो भइरहेको समयमा भीड अत्यधिक बढेको थियो । कार्यक्रम सुरु भएको केही मिनेटमै आगो एकाएक तीव्र रूपमा फैलिएको र क्लबभरि घना धुवाँ भरिँदै गएपछि ठूलो मानवीय क्षति भएको बताइएको छ । आगलागीको मूल कारण भने अझै अनुसन्धानमै रहेको अधिकारीहरूको भनाइ छ ।