अन्तर स्कुल क्रिकेटमा आदर्श र सरस्वती क्वाटरफाइनलमा प्रवेश

Breaking Nepal

शनिबार ,पुष ५ , २०८२ १७:२२

विराटनगर / नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा मेरिलेबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा जारी चौथो विराटनगर हव अन्तरस्कुल क्रिकेट प्रतियोगितामा आदर्श स्कुल र सरस्वती स्कुल क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

शनिबार सम्पन्न पहिलो खेलमा आदर्श स्कुलले गौतमबुद्ध स्कुललाई ६१ रनले पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्‍यो। टस जितेर ब्याटिङ गरेको आदर्शले १८.५ ओभरमै सबै विकेट गुमाउँदै १५२ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो। आदर्शका लागि आतिफ रैनले ३७ रनको योगदान दिए। गौतमबुद्धका सिद्धार्थ राजवंशी र कोशीक साहले समान ३–३ विकेट लिएका थिए।

१५३ रनको लक्ष्य पछ्याएको गौतमबुद्ध स्कुल १७.५ ओभरमा ९१ रनमै समेटियो। गौतमबुद्धका लागि सिद्धार्थ राजवंशीले सर्वाधिक २८ रन बनाए। आदर्शका गोरभ राँयले ४ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए भने नन्दनल झाले ३ विकेट लिए।

दोस्रो खेलमा सरस्वती स्कुलले विनायक स्कुललाई ८ विकेटले पराजित गर्दै सहज जित दर्ता गर्‍यो। टस जितेर ब्याटिङ गरेको विनायक स्कुल २० ओभर पूरा गर्न नपाउँदै ४२ रनमै अलआउट भयो। विनायकका अमन पोद्धारले सर्वाधिक १३ रन जोडे। सरस्वतीका दिगाम्बर यादवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए र प्लेयर अफ द म्याच बने।

४३ रनको सामान्य लक्ष्य पछ्याएको सरस्वती स्कुलले ७ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। सरस्वतीका विकाश कामत १६ रनमा अविजित रहे। विनायकका शिभम पासवानले १ विकेट लिए।

प्रतियोगितामा विद्यालयस्तरका प्रतिभावान खेलाडीहरूको प्रतिस्पर्धा देखिन थालेको आयोजकले जनाएको छ।