माइतीघरमा अनुमति बिना प्रदर्शन, ‘जेनजी’का अगुवा प्रहरी नियन्त्रणमा

Breaking Nepal

सोमबार ,पुष ७ , २०८२ १३:२१

काठमाडौं / काठमाडौंको माइतीघर मण्डलामा अनुमति बिना प्रदर्शनमा उत्रिएका ‘जेनजी’ समूहका केही अगुवालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। सोमबार पुस ९ गते प्रदर्शनस्थलबाट मिराज ढुंगाना, रविकिरण हमाल, अजय सोडारीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीको गाडीमा राखेको हो।

यसअघि पनि सोही स्थानबाट मिराज ढुंगाना र डा. निकोलस भुसाललगायतलाई प्रहरीले नियन्त्रणमा लिएर लैजान खोजेको थियो। तर, उनीहरूले प्रहरीको गाडीमा बस्न अस्वीकार गरेपछि प्रदर्शनकारीहरूले नाराबाजी गरेका थिए। अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले तत्काल उनीहरूलाई छाडेको थियो। त्यसपछि पुनः नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर क्षेत्रमा प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा आन्दोलन गरिएको भन्दै प्रहरीले अनुमतिविपरीतको गतिविधि रोक्न हस्तक्षेप गरिएको स्पष्ट पारेको छ। प्रशासनको निर्देशनअनुसार प्रदर्शन हटाउने क्रममा नियन्त्रणमा लिनुपरेको प्रहरीको भनाइ छ।

‘जेनजी’ समूहले सर्वपक्षीय सरकार गठनलगायतका विभिन्न माग अघि सार्दै आन्दोलनको घोषणा गरेको थियो। सोही कार्यक्रमअन्तर्गत उनीहरू सडकमा उत्रिएको बताइएको छ। घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने थप गतिविधि नहोस् भनेर निगरानी कडा पारिएको छ।