Breaking Nepal

धनकुटा / संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक भारी उपकरण ढुवानी गर्न तमोर नदीमा अन्डरपास निर्माण सुरु गरिएको छ । धनकुटाको मूलघाटस्थित तमोर नदीमाथि रहेको पुरानो पुलले आयोजनाका लागि ल्याइने उच्च तौलका सामग्री धान्न नसक्ने भएपछि वैकल्पिक रूपमा अन्डरपास निर्माणको प्रक्रिया अघि बढाइएको हो ।
आयोजनाका अनुसार करिब ६० मिटर लामो अन्डरपास निर्माण तीव्र रूपमा भइरहेको छ । कोशी लोकमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डमा पर्ने मूलघाटको करिब २०० मिटर लामो पक्की पुल २०४० सालमा निर्माण भएको हो । उक्त पुलको अधिकतम भारवहन क्षमता ७० टन मात्र रहेको आयोजनाले जनाएको छ ।
अरुण–३ आयोजनाका डिजिएम पङ्कज आनन्दका अनुसार आयोजनाका लागि ट्रान्सफर्मर, टर्बाइनलगायतका उपकरण बोकेका ट्रकको तौल १४० टनसम्म पुग्ने भएकाले पुल प्रयोग गर्नु जोखिमपूर्ण देखिएको हो । “भारी सामग्री पुलबाट लैजाँदा संरचनामा क्षति पुग्न सक्ने भएकाले अन्डरपास निर्माण अपरिहार्य भएको हो,” उनले बताए ।
उनका अनुसार सडक विभाग तथा नेपाल सरकारबाट आवश्यक स्वीकृति लिएर तमोरमा अन्डरपास निर्माणको काम सुरु गरिएको हो । हिउँद याममा नदीको पानीको सतह कम हुने भएकाले पानी बढ्नुअघि नै अधिकांश भारी सामग्री ढुवानी सम्पन्न गर्ने तयारी छ ।
यता सडक डिभिजन कार्यालय धनकुटाले धरान–धनकुटा सडकखण्डको अधिकतम भारवहन क्षमता करिब ४० टन मात्रै रहेको जानकारी दिएको छ । तर डिजिएम आनन्दले भने राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले राजमार्ग प्रयोग गरी सामग्री ओसारपसार गर्न विशेष स्वीकृति दिएको दाबी गरेका छन् ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले पनि आयोजना राष्ट्रिय महत्वको भएकाले आवश्यक समन्वय र सहजीकरण माथिल्लो तहबाटै हुने स्पष्ट पारे । उनका अनुसार सुरक्षा र पूर्वाधार जोगाउने उपाय अपनाउँदै काम अघि बढाइनेछ ।