Breaking Nepal

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले शोककै बीच ३० बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । बुवाको निधनपछि कोरामा बसेकै अवस्थामा उनले क्षेत्रगत विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र सामाजिक सुरक्षासम्म समेटिएको विस्तृत योजना सार्वजनिक गरेका हुन् ।
विराटनगर–५ स्थित निवासबाट सार्वजनिक प्रतिबद्धता पत्र एमाले नेता सत्यनारायण चौधरीले औपचारिक रूपमा सार्वजनिक गरेका थिए भने कार्यक्रममा मोरङ–६ का चुनावी कमाण्डर एवं पूर्वमन्त्री लालबाबु पण्डितले पत्रकारहरूसँग सवालजवाफ गरेका थिए । कार्यक्रममा एमालेका नेता गुरु बराल, केन्द्रीय सदस्य ऋषिकेश पोखरेल, पर्शुराम बस्नेतलगायतको उपस्थिति थियो ।
ढकालले शनिबार जारी गरेको सन्देशमा आफू पारिवारिक काममा व्यस्त रहे पनि मन मतदातासँगै रहेको उल्लेख गर्दै पार्टी कार्यकर्तामार्फत घरदैलो अभियानलाई निरन्तरता दिने बताएका थिए । शोकको घडीमा समेत प्रतिबद्धता सार्वजनिक गर्नुले जनताप्रतिको दायित्वबाट पछि नहट्ने सन्देश दिन खोजिएको नेताहरूको भनाइ छ ।
ढल–डुबान समाधान पहिलो प्राथमिकता
प्रतिबद्धता पत्रमा विराटनगरको दीर्घकालीन समस्याका रूपमा रहेको ढल निकास र डुबान नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिएको छ । गुरुयोजना तयार गरी कार्यान्वयनमा लैजाने, चक्रपथसहित प्रमुख सडक स्तरोन्नति र कालोपत्रे गर्ने तथा गछिया, बुढीखोला, केशलिया र सिंगिया नदीमा तटबन्ध निर्माण गरी बाढी नियन्त्रण गर्ने योजना अघि सारिएको छ ।
बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन, साना तथा घरेलु उद्योग प्रवर्द्धन र मजदुर हितका कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख छ । युवा उद्यमशीलता प्रवर्द्धनका लागि बिना धितो ऋण तथा स्वरोजगारमूलक शिक्षा लागू गर्ने योजना पनि समेटिएको छ ।
शिक्षामा ‘स्मार्ट’ र ‘पढ्दै–कमाउँदै’ मोडेल
शिक्षा क्षेत्र सुधारका लागि ‘स्मार्ट क्लासरुम’ नीति, जेन–जी लक्षित प्रविधिमैत्री सिकाइ र ‘पढ्दै–कमाउँदै’ कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाइएको छ । विश्वविद्यालय तथा क्याम्पसको सुव्यवस्था, मदरसा र गुरुकुललाई विश्वविद्यालयीय शैक्षिक प्रणालीसँग जोड्ने तथा रोजगारीमुखी शिक्षा प्रणाली लागू गर्ने योजना अघि सारिएको छ ।
स्वास्थ्य, कृषि र सामाजिक सुरक्षामा पहुँच विस्तार
सरकारी तथा निजी अस्पतालमा विपन्न नागरिकको सहज पहुँच सुनिश्चित गर्ने, मल–बीउ समयमै उपलब्ध गराउने, सिँचाइ विस्तार र अर्गानिक खेतीलाई व्यवसायीकरण गर्ने योजना ढकालले अघि सारेका छन् । कृषि उपज संकलन केन्द्र र शीत भण्डार सञ्चालनमा प्रोत्साहन गरिने उल्लेख छ ।
सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाको भत्ता वृद्धि गर्न पहल गर्ने, विपन्न परिवारलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने तथा सहकारी र लघुवित्तको उच्च ब्याजबाट प्रभावित नागरिकलाई राहत दिने प्रतिबद्धता पनि पत्रमा समेटिएको छ ।
पर्यटन र हरियाली पूर्वाधार
हसिना सिमसार, सुन्दरहरैंचाको छ पोखरी, बुढीगंगाको सिंगिया खोला र बौराहाको मधु पार्कलगायत क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ । कोशी नहरको विराटनगर शाखा करिडोर विकास, नदी किनार हरियालीकरण, खुला व्यायामशाला र मिनीपार्क स्थापना गर्ने लक्ष्य राखिएको छ । गछियालाई केन्द्र बनाएर प्रशासनिक कार्यालय स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
ढकालले पूर्वमन्त्री लालबाबु पण्डितको कार्यकालमा सुरु भई अधुरा रहेका आयोजनालाई प्राथमिकताका साथ पूरा गर्ने बताएका छन् । “हामीले भोट मात्र होइन, काम पूरा गर्ने अवसर खोजिरहेका छौँ,” भन्ने नारासहित उनले क्षेत्रगत विकासको नेतृत्वदायी भूमिका निर्वाह गर्ने दाबी गरेका छन् ।
मोरङ–६ मा शेखर कोइरालासहित विभिन्न दल र स्वतन्त्र गरी १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । शोककै बीच प्रतिबद्धता सार्वजनिक गर्दै ढकालले विकासको स्पष्ट कार्ययोजनाका आधारमा आफूलाई सहयोग गर्न मतदातासँग आग्रह गरेका छन् ।
विनोद ढकालले सार्वजनिक गरेका प्रतिबद्धता यस्ता छन्–