Breaking Nepal

विराटनगर / सिद्धार्थ सेकेण्डरी स्कुल को ३१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस तीन दिनसम्म विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। सुन्दरहरैँचा–१० खोर्सानेस्थित विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र शैक्षिक उपलब्धिलाई केन्द्रमा राखेर विभिन्न गतिविधि सञ्चालन गरिएको थियो।
कार्यक्रमको पहिलो दिन साना कक्षाका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो क्षमता प्रदर्शन गरेका थिए। गीत, नृत्य तथा अन्य सिर्जनात्मक प्रस्तुतिका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो। सो अवसरमा विभिन्न शैक्षिक परियोजनाको प्रदर्शनी पनि गरिएको विद्यालयले जनाएको छ।
दोस्रो दिन कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम, पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको थियो। विद्यार्थीहरूले विज्ञान तथा सूचना प्रविधिसम्बन्धी प्रदर्शनीमार्फत आफ्ना नविन प्रयोग र सिकाइ प्रस्तुत गरेका थिए। यसैगरी गायन, नृत्य, वक्तृत्वकला र चित्रकला विधामा ‘विद्यार्थी प्रतिभा प्रतियोगिता’ पनि सञ्चालन गरिएको थियो।
अन्तिम दिन कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा शैक्षिक रूपमा उत्कृष्ट प्रदर्शन गर्ने तथा चार जिपिए ल्याउन सफल विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। कविता वाचन, गीत, नृत्य, वक्तृत्वकला, चित्रकला तथा विज्ञान र सूचना प्रविधिसम्बन्धी प्रदर्शनीले कार्यक्रममा थप आकर्षण थपेको थियो।
कार्यक्रमका क्रममा विद्यालयका पूर्वविद्यार्थी राकेश श्रेष्ठ ले तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गर्दै चार जना विद्यार्थीलाई नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए। उक्त पुरस्कार विद्यालयका प्रधानाध्यापक अर्जुन बस्नेत र दाताका पिता गोविन्द श्रेष्ठ ले संयुक्त रूपमा वितरण गरेका थिए।
कार्यक्रममा अभिभावक, पूर्वविद्यार्थी, शुभेच्छुक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न तथा सिर्जनशीलता विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक बस्नेतले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि संस्कार, अनुशासन र प्रविधिमैत्री शिक्षालाई विद्यालयले प्राथमिकतामा राखेको बताए। उनले विद्यालयले शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य रहेको उल्लेख गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलम ढुंगाना को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक जेभी थुलुङ ले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले दिनभर विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुतिमार्फत अभिभावक र अतिथिहरूलाई मनोरञ्जनसमेत प्रदान गरेका थिए।