नेतृत्व संकटबीच सभापतिको कुर्सी खाली नै राखेर कांग्रेस केन्द्रीय समिति बैठक सुरु

Breaking Nepal

शुक्रबार ,चैत्र ६ , २०८२ १३:३४

काठमाडौं / नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेतृत्व संकटबीच सुरु भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सञ्चालन भइरहेको छ।

पार्टी सभापति गगन थापाले हालै दिएको राजीनामापछि पहिलोपटक बसेको यस बैठकमा उनको अनुपस्थिति देखिएको छ। बैठक कक्षमा सभापतिको कुर्सी खाली राखेर बैठक सुरु गरिएको स्रोतले जनाएको छ ।

महामन्त्री प्रदीप पौडेलका अनुसार बैठकमा मुख्यतः दुई एजेन्डामाथि केन्द्रित भएर छलफल हुनेछ, सभापति थापाको राजीनामा र पछिल्लो प्रतिनिधिसभा निर्वाचनको समीक्षा ।

उपसभापति शर्माले बैठकमा निर्वाचन परिणामको प्रारम्भिक विश्लेषण प्रस्तुत गर्नुका साथै थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्तावसमेत पेश गर्ने तयारी रहेको बताएका छन् । थापाले भने हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको भन्दै नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट मात्र जित्न सफल भएको थियो, जसलाई पार्टीभित्र गम्भीर समीक्षा गर्नुपर्ने विषयका रूपमा लिइएको छ । वर्तमान बैठकले पार्टीको आगामी रणनीति, संगठनात्मक सुधार र नेतृत्वको स्थायित्वबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।