आगो, समय र समाजको सशक्त स्वर : ‘आगो खरानी जान्दैन’ सार्वजनिक

Breaking Nepal

शनिबार ,चैत्र १४ , २०८२ १४:१४

विराटनगर / समकालीन समाजका बहुआयामिक यथार्थलाई कवितामार्फत उजागर गर्ने उद्देश्यसहित कवि उमेश लुइँटेलको दोस्रो कवितासङ्ग्रह ‘आगो खरानी जान्दैन’ सार्वजनिक गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा विराटनगरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यमा उक्त कृति विमोचन गरिएको हो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, अग्रज साहित्यकार खेम नेपाली, प्राडा मेदिनीप्रसाद शर्मा नेपाल तथा साहित्यकार सरला चापागाईंलगायतले संयुक्त रूपमा कृति सार्वजनिक गरे ।

विमोचित कृतिमाथि समालोचक भूषण ढुङ्गेल र डा. इन्दिरा मिश्रले गहन समीक्षा प्रस्तुत गर्दै कृतिले समकालीन नेपाली समाजको जटिल यथार्थलाई प्रखर ढङ्गले अभिव्यक्त गरेको धारणा राखे । उनीहरूले लुइँटेलका कवितामा भूत, वर्तमान र भविष्यबीचको अन्तर्सम्बन्धलाई सशक्त रूपमा उतारिएको उल्लेख गर्दै सामाजिक परिवर्तन, मानवीय संवेदना र वैचारिक संघर्षलाई गहिराइका साथ प्रस्तुत गरिएको बताए ।

ढुंगेलले कृतिभित्रको भाषा प्रयोगलाई ‘सरल तर धारिलो’ भन्दै कविताले पाठकलाई आत्मचिन्तनतर्फ डोर्याउने क्षमता राख्ने उल्लेख गरे । त्यस्तै, मिश्रले कविताहरूमा विद्रोही चेतना, समयबोध र अस्तित्वको प्रश्न उठाइएको भन्दै नयाँ पुस्ताका पाठकका लागिसमेत कृति महत्वपूर्ण रहेको बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले समकालीन नेपाली साहित्यमा युवा पुस्ताका सर्जकहरूले सामाजिक यथार्थलाई निर्भीक रूपमा अभिव्यक्त गर्न थालेको उल्लेख गर्दै लुइँटेलको कृतिले त्यो धारालाई अझ सशक्त बनाएको बताए । उनले कविता केवल सौन्दर्यको विषय नभई समाज परिवर्तनको चेतनात्मक माध्यमसमेत भएको धारणा राखे ।

प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदित तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद दाहालले पनि कृतिको सफलताको कामना गर्दै नेपाली साहित्यमा यसको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

सो अवसरमा कवि लुइँटेलले आफ्ना दुई कविता वाचन गर्दै लेखन प्रक्रियामा समय, समाज र व्यक्तिगत अनुभूतिको अन्तरसम्बन्धलाई समेट्ने प्रयास गरेको बताए ।

यसअघि ‘शीतको शिविरमा’ कवितासङ्ग्रहमार्फत पाठकमाझ परिचित बनेका लुइँटेल वाणी नवप्रतिभा पुरस्कार, डा. नरेन्द्र चापागाईं युवा प्रतिभा पुरस्कार तथा कृष्णभूषण बल युवा सिर्जना सम्मानबाट सम्मानित सर्जक हुन् ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानको ११३औँ प्रकाशनका रूपमा आएको ‘आगो खरानी जान्दैन’ भित्र ४१ वटा कविता समावेश छन् । जसले सामाजिक असमानता, मानवीय संवेदना, समयचेतना र परिवर्तनको आकांक्षालाई विविध कोणबाट प्रस्तुत गरेको छ ।