गण्डकीमा मन्त्रिमण्डल पुनर्गठन: कांग्रेस–एमाले बराबरी, ९ सदस्यीय टिमले लिए शपथ

Breaking Nepal

बुधबार ,बैशाख २ , २०८३ १३:३९

काठमाडौं / गण्डकी प्रदेश सरकारमा व्यापक पुनर्गठन गर्दै ९ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन गरिएको छ । सत्तारुढ गठबन्धनअन्तर्गत नेपाली कांग्रेस र नेकपा (एमाले)बाट समान चार–चार मन्त्री समेटिएका छन् भने नेतृत्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकै हातमा कायम रहेको छ ।

बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुखबाट नयाँ मन्त्रिपरिषद् गठन गरिएको हो । यसअघि कार्यरत सबै मन्त्रीहरूलाई बर्खास्त गर्दै नयाँ अनुहारसहित मन्त्रिमण्डल पुनर्संरचना गरिएको जनाइएको छ ।

नयाँ मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट जित शेरचनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद तथा नम्डु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

त्यसैगरी, नेकपा (एमाले)बाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी तथा भीम कार्की स्वास्थ्य मन्त्री बनेका छन् ।

मन्त्रिमण्डल पुनर्गठनसँगै प्रदेश सरकारको कार्यसम्पादनमा तीव्रता ल्याउने र विकास–निर्माणका कामलाई गति दिने अपेक्षा गरिएको छ ।