Breaking Nepal

विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले ‘दैनिक कार्यसम्पादन मूल्याङ्कन ढाँचा कार्यान्वयन समीक्षा’ सम्बन्धी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालको प्रमुख आतिथ्यतामा तथा मातहतका सबै युनिट इन्चार्जहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा कार्यसम्पादन प्रणालीको प्रभावकारिता, कार्यान्वयन अवस्था तथा आगामी सुधारका पक्षमा विस्तृत छलफल गरिएको हो ।

कार्यक्रममा प्रहरी संगठनभित्र अनुशासन, जिम्मेवारी र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले दैनिक कार्यसम्पादन मूल्याङ्कन ढाँचाको व्यावहारिक कार्यान्वयन, उपलब्धि तथा चुनौतीहरूको समीक्षा गरिएको थियो । साथै, सेवा प्रवाहलाई थप चुस्त, पारदर्शी र परिणाममुखी बनाउन आवश्यक रणनीतिहरूबारे समेत सहभागीहरूबीच विचार–विमर्श भएको जनाइएको छ ।

सो अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारी तथा युनिट प्रमुखहरूलाई सम्मानसमेत गरिएको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साह, प्रहरी चौकी बखरीका प्रमुख प्रहरी नायव निरीक्षक दिवश श्रेष्ठ तथा फागुन महिनाको पुलिस अफ द मन्थ बन्न सफल प्रहरी सहायक हवल्दार दर्शन श्रेष्ठलाई प्रमुख अतिथि एसपी कटवालले प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरे ।

प्रशंसा–पत्र प्रदान गर्दै प्रहरी उपरीक्षक कटवालले प्रहरी संगठनको विश्वास, कार्यकुशलता र जनसेवाको स्तर अझ उकास्न व्यक्तिगत तथा सामूहिक जिम्मेवारी अपरिहार्य हुने उल्लेख गरे । उनले कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई केवल औपचारिकतामा सीमित नराखी व्यवहारिक रूपमा प्रभावकारी बनाउन सबै युनिट प्रमुखहरूलाई निर्देशनसमेत दिए ।

कार्यक्रममा सहभागी युनिट इन्चार्जहरूले आफ्नो कार्यक्षेत्रमा देखिएका समस्या, सुधारका सम्भावना तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उपायबारे सुझाव प्रस्तुत गरेका थिए ।