निर्वाचन सुधारका लागि आयोगद्वारा केन्द्रीय समीक्षा कार्यशाला सुरु

Breaking Nepal

शुक्रबार ,जेष्ठ २२ , २०८३ १०:०२

काठमाडौं– निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र समीक्षा तथा आगामी निर्वाचनलाई थप प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यसहित केन्द्रीय समीक्षा कार्यशाला सुरु गरेको छ।

बागमती प्रदेशबाहेक अन्य प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरेपछि आयोगले बिहीबार काठमाडौंमा केन्द्रीयस्तरको समीक्षा कार्यशाला आयोजना गरेको हो।

कार्यशालाको उद्घाटन तत्कालीन प्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, निर्वाचन आयोगका आयुक्तहरू, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, निर्वाचन पर्यवेक्षक, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत, स्वयंसेवक तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटीले प्रदेश तथा केन्द्रीय समीक्षाबाट प्राप्त सुझाव, असल अभ्यास र देखिएका कमजोरीहरूको विश्लेषण गरी आगामी निर्वाचन सुधारका लागि आवश्यक नीति तथा कार्ययोजना तयार गरिने जानकारी दिए।

आयोगका अनुसार निर्वाचन प्रक्रियाका अनुभव, चुनौती र उपलब्धिहरूको समग्र मूल्याङ्कन गर्दै भविष्यका निर्वाचनलाई अझ व्यवस्थित, निष्पक्ष र प्रभावकारी बनाउने लक्ष्यसहित कार्यशाला आयोजना गरिएको हो।