Breaking Nepal

विराटनगर / नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई लक्षित गर्दै विराटनगर–९ स्थित भानु कलेजले भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययनका लागि भर्ना भएका २२औँ ब्याचका ३५० भन्दा बढी विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, अध्ययन पद्धति तथा भविष्य निर्माणका सम्भावनाबारे जानकारी गराउँदै कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा विद्यार्थीलाई कक्षा ११ को पाठ्यक्रम, अध्ययनका प्राथमिकता, कलेजका नीति–नियम तथा अनुशासनसम्बन्धी विषयमा विस्तृत जानकारी दिइएको थियो । साथै शिक्षक–शिक्षिकासँग परिचय गराउँदै उच्च शिक्षाको यात्रालाई उपलब्धिमूलक बनाउने विषयमा प्रेरणामूलक प्रस्तुति समेत गरिएको थियो ।
कलेजका प्राचार्य वसन्तकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. दामोदर थापा क्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा कलेजका निर्देशकहरू मोहनकुमार श्रेष्ठ, डा. नरेन्द्रकुमार चौधरी, डा. रामप्रसाद कोइराला तथा देवेश प्रधानले विद्यार्थीलाई सफल शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्दै मार्गदर्शन गरेका थिए ।
नयाँ विद्यार्थीका तर्फबाट सिजल चौधरी र कुशल दाहालले विज्ञान तथा व्यवस्थापन अध्ययनका लागि भानु कलेज रोज्नुका कारण प्रस्तुत गर्दै कलेजप्रति आफ्नो विश्वास र अपेक्षा व्यक्त गरेका थिए ।
कार्यक्रमलाई थप उत्साहपूर्ण बनाउन कक्षा १२ का विद्यार्थीले नृत्य तथा गायनसहित सांस्कृतिक प्रस्तुति दिएका थिए । सांस्कृतिक कार्यक्रममार्फत नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो।
सो अवसरमा प्राचार्य बस्नेतले सफलता प्राप्तिका लागि कडा मेहनत, निरन्तर प्रयास, अनुशासित जीवनशैली र इमानदार अठोट अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थीलाई लक्ष्यप्रति प्रतिबद्ध रहन आग्रह गरे ।
कार्यक्रममा निर्देशक नवीन गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन निर्देशक रमेश पाण्डेले गरेका थिए ।
भानु कलेजले हरेक वर्ष नयाँ विद्यार्थीलाई शैक्षिक, नैतिक तथा व्यावसायिक रूपमा सक्षम बनाउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्षको कार्यक्रमले पनि विद्यार्थीमा आत्मविश्वास, लक्ष्यप्रति स्पष्टता र शैक्षिक उत्कृष्टताप्रतिको प्रतिबद्धता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको कलेजले जनाएको छ ।