महानगरको सहयोगमा विराटनगरमा वान्तवा भाषा संरक्षण अभियान, स्मारिका विमोचन र प्रशिक्षण सम्पन्न

Breaking Nepal

शुक्रबार ,जेष्ठ २२ , २०८३ १८:५५

विराटनगर / आदिवासी जनजातिको भाषा, साहित्य र सांस्कृतिक पहिचान संरक्षणको अभियानलाई थप सशक्त बनाउने उद्देश्यसहित किरात राई यायोक्खा महानगर समिति विराटनगरद्वारा प्रकाशित वान्तवा भाषासम्बन्धी स्मारिका विमोचन गरिएको छ ।

शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्मारिकाको औपचारिक विमोचन गर्दै मातृभाषा संरक्षण सांस्कृतिक विविधताको आधार भएको बताए । उनले स्थानीय तहले भाषिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

किरात राई समुदायको इतिहास, संस्कृति, भाषिक विकासक्रम तथा वान्तवा भाषाको संरक्षण र संवर्द्धनसम्बन्धी अनुसन्धानमूलक लेख, रचना र सामग्री समेटिएको स्मारिकाले आगामी पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सोही अवसरमा विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालन गरिएको एकमहिने राई वान्तवा भाषा प्रशिक्षण कार्यक्रमसमेत सम्पन्न भएको घोषणा गरिएको छ । कार्यक्रममा मेयर कोइरालासहित आयोजक संस्थाकी अध्यक्ष विष्णुकुमारी राईले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा प्रमुख प्रशिक्षक सुजाता राई र प्रशिक्षक खड्गबहादुर राईले सहभागीलाई वान्तवा भाषाको लिपि, उच्चारण, व्याकरण तथा व्यवहारिक प्रयोगसम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

प्रशिक्षणमा ६० जना सहभागी भएका थिए । आयोजकका अनुसार पछिल्लो समय युवा पुस्तामा मातृभाषाप्रतिको आकर्षण बढ्दै गएसँगै भाषा सिकाइ तथा संरक्षणका गतिविधि प्रभावकारी बन्दै गएका छन् ।

किरात राई यायोक्खा महानगर समिति विराटनगरकी अध्यक्ष विष्णुकुमारी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुजेल समाज विराटनगरका अध्यक्ष पूर्ण भुजेल,

किरात राई वान्तवा खिमको केन्द्रीय अध्यक्ष ज्ञान किराती, किरातेश्वर माङ्खिम विराटनगरको अध्यक्ष धर्मराज म्याङबो, सचिव दशरथ रुम्दाली, सहसचिव बालकुमारी राई, मनबहादुर राईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै भाषिक विविधताको संरक्षणमा समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए ।

समितिका अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र वान्तवा भाषा बोल्ने राई समुदायका चार सयभन्दा बढी घरधुरी रहेका छन् । ती समुदायका बालबालिका र युवापुस्तालाई मातृभाषासँग जोडिराख्न नियमित प्रशिक्षण, साहित्य प्रकाशन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने योजना रहेको जनाइएको छ ।

भाषा संरक्षणसँगै समुदायको सांस्कृतिक विरासत, मौलिक ज्ञान र पहिचानलाई पुस्तान्तरण गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा अझ व्यापक बनाइने आयोजकले जनाएको छ।