विकेभिएमको कक्षा ११ मा उत्साहजनक आकर्षण, भर्ना भएका ३४० विद्यार्थीका लागि अभिमुखीकरण

Breaking Nepal

आइतबार ,जेष्ठ २४ , २०८३ १०:३३

विराटनगर / विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम) ले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उच्च शिक्षा र भविष्य निर्माणप्रति केन्द्रित अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वक्ताहरूले कक्षा ११ र १२ लाई जीवनको महत्वपूर्ण मोडका रूपमा चित्रण गर्दै लक्ष्य, अनुशासन र निरन्तर मेहनतमार्फत सफल भविष्य निर्माण गर्न सकिने बताएका छन् ।

होटल स्वागतमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल रविनकुमार दाहालले उच्च माध्यमिक तह विद्यार्थीको शैक्षिक र व्यावसायिक यात्राको आधारस्तम्भ भएको उल्लेख गरे । कक्षा ११ र १२ मा गरिएको अध्ययन, समय व्यवस्थापन र परिश्रमले भविष्यको दिशा निर्धारण गर्ने भएकाले सुरुदेखि नै स्पष्ट लक्ष्यका साथ अघि बढ्न उनको आग्रह थियो ।

‘सफलताको कुनै छोटो बाटो हुँदैन, निरन्तर मेहनत र आत्मविश्वास नै उपलब्धिको प्रमुख आधार हो,’ उनले भने ।

कार्यक्रमका विशेष वक्ता तथा गुरुकुल सीएका मुकुल भट्टले विकेभिएमबाट अध्ययन गरेका विद्यार्थीहरू चिकित्सा, इन्जिनियरिङ, चार्टर्ड एकाउन्टेन्सी (सीए), व्यवस्थापन तथा अन्य व्यावसायिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको चर्चा गरे । उनले विद्यालयले उत्पादन गर्ने नयाँ पुस्ताले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने विश्वास व्यक्त गरे ।

शिक्षक प्रदीप निरौलाले विद्यार्थीको आजको लगानी नै भोलिको सफलता भएको उल्लेख गर्दै शैक्षिक उत्कृष्टताका लागि विद्यालय परिवार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । ‘विद्यार्थीको प्रगति र सफलताका लागि शिक्षकहरूले आवश्यक मार्गदर्शन र सहयोगमा कुनै कमी हुन दिने छैनन्,’ उनले भने ।

कार्यक्रममा हाल चिकित्सा शिक्षा अध्ययनरत पूर्वविद्यार्थी सुजल पौडेल र क्षितिज पराजुलीले आफ्नो अनुभव साझा गर्दै कक्षा ११ र १२ को मेहनतले उच्च शिक्षामा प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने बताए । उनीहरूले समयको सदुपयोग, नियमित अध्ययन र सकारात्मक सोच सफलताको मूल मन्त्र भएको उल्लेख गरे ।

त्यसैगरी कक्षा १२ की छात्रा राघिनी न्यौपाने तथा एसईईमा ४ जीपीए प्राप्त गरी यसै वर्ष कक्षा ११ मा भर्ना भएकी कोपिला आचार्यले विकेभिएमले विद्यार्थीको क्षमता विकास, शैक्षिक मार्गदर्शन तथा अतिरिक्त क्रियाकलापमार्फत समग्र व्यक्तित्व निर्माणमा विशेष जोड दिँदै आएको बताए ।

विद्यालयकी भाइस प्रिन्सिपल अञ्जली दाहालका अनुसार यस शैक्षिक सत्रमा व्यवस्थापन संकायमा ७० जना र विज्ञान संकायमा २७० जना गरी कुल ३४० विद्यार्थी भर्ना भएका छन् । उनले गुणस्तरीय शिक्षासँगै प्रयोगात्मक सिकाइ, करिअर काउन्सिलिङ र प्रतिस्पर्धात्मक तयारीमा विद्यालयले विशेष प्राथमिकता दिएको जानकारी दिइन् ।

अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा प्रस्तुतिलाई पनि प्राथमिकता दिइएको थियो। सो अवसरमा श्रीजन फुयलले सांगीतिक प्रस्तुति दिएका थिए भने अन्य विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । कार्यक्रमले नयाँ विद्यार्थी, अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै आगामी शैक्षिक यात्राप्रति सकारात्मक ऊर्जा प्रदान गरेको विद्यालयले जनाएको छ ।

विकेभिएमले शैक्षिक उपलब्धि, उत्कृष्ट नतिजा र अनुशासित शैक्षिक वातावरणका कारण प्रदेशकै रोजाइको शिक्षण संस्थाका रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएको छ ।