Breaking Nepal

विराटनगर / मोरङको उर्लाबारीबाट शरीरभित्र लुकाएर लागुऔषध ओसारपसार गरिरहेका दुई युवक पक्राउ परेका छन्। प्रहरीले उनीहरूको मलद्वारबाट २४ ग्रामभन्दा बढी खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले विशेष सूचनाका आधारमा उर्लाबारी–७ गोलचोक क्षेत्रमा मोटरसाइकलसहित नियन्त्रणमा लिएका उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङबाट लागुऔषध बरामद गरेको हो।
प्रहरीका अनुसार दुवैले पारदर्शी कन्डम र पोलिथिनमा प्याक गरी मलद्वारभित्र लुकाएको अवस्थामा लागुऔषध ओसारपसार गरिरहेका थिए। चिकित्सकीय निगरानीमा गरिएको प्रक्रियापछि श्रेष्ठबाट १४.७२ ग्राम र गुरुङबाट ९.४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
घटनामा प्रयोग गरिएको मोटरसाइकल र दुवै जनाको मोबाइल समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। मोरङ प्रहरीका अनुसार शरीरभित्र लागुऔषध लुकाएर ओसारपसार गर्ने प्रवृत्ति नयाँ र चुनौतीपूर्ण देखिएकाले यसको सञ्जाल पहिचान गर्न थप अनुसन्धान भइरहेको छ।
पक्राउ परेकाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ।