रास्वपा मोरङको नेतृत्वमा भरत कँडेल, संस्थापक पुस्तामाथि कार्यकर्ताको भरोसा, कांग्रेस छाडेका दिवस नेपाल बने सचिव

Breaking Nepal

आइतबार ,जेष्ठ २४ , २०८३ १२:५५

विराटनगर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको पहिलो जिल्ला अधिवेशनले संस्थापक नेतृत्वप्रति कार्यकर्ताको विश्वास दोहोर्याउँदै भरत कँडेललाई जिल्ला सभापतिको जिम्मेवारी सुम्पिएको छ । प्रतिस्पर्धात्मक निर्वाचनबाट कँडेलले स्पष्ट मतान्तरसहित नेतृत्व हात पारेका हुन् ।

विराटनगरमा सम्पन्न अधिवेशनअन्तर्गत भएको मतदानमा कुल ४८६ मत खसेको थियो । सभापति पदका लागि भएको प्रतिस्पर्धामा कँडेलले २८३ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी कोषराज खनालले १३४ मत तथा अर्का उम्मेदवार सागर फुयाँलले ५६ मत पाए ।

रास्वपा मोरङका संस्थापक सभापतिसमेत रहेका कँडेल शिक्षण क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका व्यक्तित्व हुन् । निर्वाचन परिणामले पार्टी संगठन निर्माणमा उनको योगदानलाई कार्यकर्ताले पुनः अनुमोदन गरेको रूपमा विश्लेषण गरिएको छ ।

जिल्ला सचिव पदमा भने कडा प्रतिस्पर्धा देखियो। दिवस नेपाल १३० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर सुरेश श्रेष्ठले १२४ मत प्राप्त गरे । अन्य उम्मेदवार बुद्धिनाथ अधिकारीले ११९ तथा कुमार खुलालले १०३ मत पाए। नेपाल यसअघि नेपाली कांग्रेस विराटनगर महानगर समितिमा उपसचिवको भूमिकामा सक्रिय थिए ।

सह–सचिव पदमा सिर्जना गिरीले उल्लेखनीय मतान्तरसहित जित निकालिन् । उनले ३२३ मत प्राप्त गर्दा प्रतिस्पर्धी सन्तोष सिंह १४६ मतमा सीमित भए। उपाध्यक्ष पदमा भने बिमला बस्नेत निर्विरोध निर्वाचित भएकी थिइन् ।

चार सदस्यीय पदका लागि भएको प्रतिस्पर्धामा भावना बस्नेत श्रेष्ठ, युवराज ओझा, ओमप्रकाश श्रेष्ठ र लक्ष्मी श्रेष्ठ निर्वाचित भए। निर्वाचनमा उनीहरूले क्रमशः २९४, २५८, २५७ र १९६ मत प्राप्त गरेका थिए। अन्य प्रत्यासी परमेश्वर साहले १८१ मत प्राप्त गर्दा महेश कुमार खनाल र युवराज कार्कीले समान १५७ मत पाए ।

रास्वपाको विधानअनुसार नौ सदस्यीय जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारी तथा सदस्य रहने व्यवस्था छ। कोषाध्यक्षको चयन भने नवगठित कार्यसमितिले पछि गर्नेछ। साथै दुई सदस्य मनोनयन गरिने र पालिका सभापतिहरू पदेन सदस्यका रूपमा समितिमा रहने प्रावधान छ ।

अधिवेशनले जिल्ला नेतृत्वसँगै क्षेत्रीय संरचना निर्माणको प्रक्रियालाई पनि अघि बढाएको छ । नव निर्वाचित नेतृत्वले संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक एजेन्डालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । मोरङमा पार्टीको आधार विस्तार र संगठन सुदृढीकरणमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।