Breaking Nepal

झापा / भारतीय चिया बोर्डले नेपाली चियामाथि लागू गरेको नयाँ परीक्षण व्यवस्था पुनः कडा बनाउँदा नेपालको प्रमुख निर्यात वस्तुमध्ये एक चिया पुनः संकटमा परेको छ । गुणस्तर परीक्षणको नाममा भारतीय पक्षले आयातकर्ताको गोदाममै पुगेर चियाका प्रत्येक बोराबाट नमुना संकलन गर्न थालेपछि नेपाली निर्यातकर्ताले भारततर्फको ढुवानी नै स्थगित गरेका छन् ।
व्यवसायीहरूका अनुसार भारत प्रवेश गरिसकेपछि समेत चियालाई बिक्री तथा वितरणमा रोक लगाउने व्यवस्था गरिएकाले निर्यात प्रक्रिया अनिश्चित बनेको हो । भारतीय प्रयोगशालाबाट परीक्षण प्रतिवेदन प्राप्त नहुँदासम्म चिया गोदामबाट बाहिर लैजान नपाइने प्रावधानका कारण कोलकातामा ठूलो परिमाणको नेपाली चिया अलपत्र परेको छ ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार हालसम्म करिब ५० हजार किलो नेपाली चिया कोलकातास्थित गोदामहरूमा रोकिएको छ । परीक्षणका लागि पठाइएका नमुनाको प्रतिवेदन आउन ढिलाइ हुँदा व्यवसायीले थप निर्यात रोक्ने निर्णय गरेका छन् । “नमुनासमेत समयमै संकलन हुन सकेको छैन । परीक्षण प्रक्रिया नै अव्यवस्थित बनेपछि चिया लामो समय गोदाममा थन्किन बाध्य भएको छ,” उनले बताए ।
भारतीय चिया बोर्डले गत मे महिनादेखि लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ अन्तर्गत नेपालबाट आयात हुने चियाको अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेको थियो । व्यवसायीहरूको विरोधपछि नियमित परीक्षणको सट्टा ‘र्यान्डम स्याम्पलिङ’ गर्ने सहमति बनेको भए पनि व्यवहारमा पुनः शतप्रतिशत परीक्षणजस्तै प्रक्रिया अपनाइएपछि समस्या दोहोरिएको हो ।
व्यवसायीहरूका अनुसार भारतीय भन्सार कार्यालय पानीट्यांकीबाट अस्थायी स्वीकृति पत्रका आधारमा चिया कोलकाता पठाइए पनि त्यहाँ पुगेपछि फेरि नमुना परीक्षणको झन्झट थपिएको छ । परीक्षणका लागि आवश्यक प्राविधिक जनशक्ति अभाव हुँदा प्रक्रिया लामो बन्दै गएको र चियाको गुणस्तरमै असर पर्ने जोखिम बढेको उनीहरूको भनाइ छ ।
नयाँ व्यवस्थाअनुसार भारतीय आयातकर्ताले चिया भारत आइपुग्नुअघि नै टी काउन्सिलको पोर्टलमा ढुवानी मिति, कन्टेनर विवरण, गोदामको स्थान तथा प्रोफर्मा इन्भोइसलगायतका विवरण पेश गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र अस्थायी क्लियरेन्स प्रमाणपत्र जारी गरिन्छ । सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्तीमा दुई साताभन्दा बढी समय लाग्ने व्यवसायीहरू बताउँछन् ।
लागत पक्ष पनि उत्तिकै बढेको छ । भारतीय चिया बोर्डले प्रत्येक नमुना परीक्षणका लागि ११ हजार १२० भारतीय रुपैयाँ शुल्क तोकेको छ । त्यसमा वस्तु तथा सेवा कर (जीएसटी) समेत थपिँदा परीक्षण खर्च नेपाली मुद्रा अनुसार करिब १८ हजार रुपैयाँ नाघ्ने गरेको छ । यसले निर्यात लागत उल्लेख्य रूपमा बढाएको व्यवसायीहरूको गुनासो छ ।
नेपालबाट भारत हुँदै तेस्रो मुलुकमा समेत चिया पुनः निर्यात हुने भएकाले भारतीय कडाइले सम्पूर्ण आपूर्ति शृंखलामा असर पुर्याएको संघको भनाइ छ । निरन्तर बढिरहेका गैरभन्सार अवरोधले चिया किसान, उद्योगी तथा निर्यातकर्ताको मनोबल कमजोर बनाएको उनीहरू बताउँछन् ।
भारत नेपाली चियाको सबैभन्दा ठूलो बजार हो । कुल उत्पादनको करिब ८० प्रतिशत हिस्सा भारतमै निर्यात हुने भएकाले त्यहाँको नीतिगत परिवर्तनले नेपाली चिया क्षेत्र प्रत्यक्ष प्रभावित हुने गरेको छ । व्यवसायीहरूले कूटनीतिक तथा सरकारी तहबाट दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् ।
मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म नेपालले भारततर्फ ९९ लाख ४९ हजार ७ सय ९४ किलो चिया निर्यात गरेको छ, जसको मूल्य २ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबर रहेको छ । तर पछिल्लो अवरोधले आगामी महिनाहरूमा निर्यात वृद्धिदर प्रभावित हुने संकेत देखिएको छ ।