आरुघाटमा निःशुल्क मोतीविन्दु शल्यक्रिया शिविर, ८५ जनाले पाए उज्यालो दृष्टि

Breaking Nepal

सोमबार ,जेष्ठ २५ , २०८३ १२:३८

गोरखा, आरुघाट गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालन गरिएको निःशुल्क मोतीविन्दु शल्यक्रिया शिविरबाट ८५ जना नागरिक लाभान्वित भएका छन्।

आरुघाट गाउँपालिकाको आयोजनामा तथा हिमालयन आँखा अस्पताल पोखरा, गोरखा लायन्स आँखा सेवा केन्द्र र आइकेयरको प्राविधिक सहयोगमा दुईदिने शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठका अनुसार शिविरमा आँखासम्बन्धी समस्या भएका नागरिकहरूको स्क्रिनिङ परीक्षण गर्नुका साथै आवश्यक बिरामीहरूको मोतीविन्दु शल्यक्रिया गरिएको थियो।

शिविरमा हिमालयन आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा कृष्ण गुरुङ को नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा प्रदान गरेको थियो।

गाउँपालिकाका अनुसार शिविरले विशेषगरी दुर्गम तथा आर्थिक रूपमा विपन्न समुदायका नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

लामो समयदेखि दृष्टि समस्याबाट पीडित रहेका धेरै बिरामीले निःशुल्क शल्यक्रियापछि पुनः स्पष्ट रूपमा देख्न सक्ने भएपछि खुसी व्यक्त गरेका छन्। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।