Breaking Nepal

काठमाडौं / नेपालको अर्थतन्त्रमा रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको छ । चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन नेपालमा एकै महिनामा प्राप्त भएको हालसम्मकै उच्च रकम हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकअनुसार वैशाखमा रेमिट्यान्स आप्रवाहले ऐतिहासिक उचाइ छोएको हो । अघिल्लो महिना चैतमा २ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने वैशाखमा यो रकम झन्डै ४८ अर्ब रुपैयाँले बढेको देखिएको छ ।
चालु आर्थिक वर्षको वैशाखसम्म कुल रेमिट्यान्स आप्रवाह १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो। यस आधारमा चालु आवको १० महिनामा रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरमा पनि रेमिट्यान्स उल्लेखनीय रूपमा बढेको छ । समीक्षा अवधिमा डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड डलर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धि दर १०.६ प्रतिशत मात्र रहेको थियो ।
रेमिट्यान्स वृद्धिसँगै खुद द्वितीय आय पनि उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म खुद द्वितीय आय २० खर्ब ९१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रुपैयाँ थियो ।
वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटेको देखिएको छ । चालु आवको वैशाखसम्म संस्थागत तथा व्यक्तिगत रूपमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५१० पुगेको छ। यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३६४ रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५ हजार ६१० तथा पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ थियो । यसले नयाँ श्रम स्वीकृति घटे पनि पुनः श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको संकेत गरेको छ ।
अर्थतन्त्रका प्रमुख बाह्य स्रोतहरूमध्ये रेमिट्यान्सको योगदान अझ सुदृढ बन्दै गएको तथ्यांकले देखाएको छ । उच्च रेमिट्यान्स आप्रवाहले विदेशी मुद्रा सञ्चिति, बैंकिङ प्रणालीको तरलता तथा उपभोग खर्चमा सकारात्मक प्रभाव पारिरहेको विश्लेषण गरिएको छ ।