प्रतिनिधिसभा बैठक आज, बजेटमाथिका प्रश्नको अर्थमन्त्रीले दिनेछन् जवाफ

Breaking Nepal

बुधबार ,जेष्ठ २७ , २०८३ ०८:०७

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने तय भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका कारण आजको बैठक पनि सहज रूपमा सञ्चालन हुने सम्भावना कम देखिएको छ।

विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर संसदको रोष्ट्रमबाट माफी नमागेसम्म बैठक चल्न नदिने अडान कायम राखेका छन्। यसका कारण लामो समयदेखि संसदको नियमित कार्यसूची प्रभावित हुँदै आएको छ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

अर्थमन्त्री वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि बजेटमाथिको छलफल अघि बढ्नेछ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूको मनोनयनबारे जानकारी गराउने तथा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रियसभाबाट निर्धारित अवधिभित्र फिर्ता नभएको जानकारी सदनलाई गराउने कार्यसूची पनि रहेको छ।

त्यसैगरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन्।