शेखर कोइरालाको सचिवालय भन्छ–  सातबुँदे सहमति प्रस्तावको चर्चा ‘भ्रामक’

Breaking Nepal

बुधबार ,जेष्ठ २७ , २०८३ १०:११

काठमाडौं  / नेपाली कांग्रेसको संस्थापन पक्षले सहमतिका लागि सातबुँदे प्रस्ताव पठाएको भन्ने चर्चा भ्रामक र तथ्यहीन रहेको भन्दै नेता डा. शेखर कोइरालाको सचिवालयले त्यसबारे आफूहरूलाई कुनै जानकारी नभएको जनाएको छ ।

सचिवालयले सार्वजनिक गरेको स्पष्कीरणमा पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित सातबुँदे सहमति प्रस्तावसम्बन्धी समाचार तथा चर्चाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्ता सूचनामा कुनै सत्यता नरहेको दाबी गरेको छ ।

शेखर पक्षका अनुसार विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएपछि संस्थापन पक्षसँग औपचारिक वा अनौपचारिक कुनै पनि तहमा सहमति, वार्ता वा प्रस्ताव आदानप्रदान भएको छैन । सचिवालयले बाहिर प्रचार गरिएजस्तो कुनै सातबुँदे प्रस्ताव प्राप्त नभएको र त्यससम्बन्धी जानकारीसमेत आफूहरूसँग नरहेको स्पष्ट पारेको छ ।

सचिवालयका अनुसार २०८२ चैत २२ गते नेता प्रदीप पौडेल र २०८३ वैशाख २२ गते महामन्त्री गगन थापाले विशालनगरस्थित सचिवालयमा पुगेर डा. कोइरालासँग भेटवार्ता गरेका थिए । ती भेटबाहेक त्यसपछिको अवधिमा संस्थापन पक्षका कुनै नेतासँग संवाद वा सम्पर्क नभएको दाबी गरिएको छ ।

शेखर पक्षले आधारहीन र मनगढन्ते सूचनाले पार्टीभित्र अनावश्यक भ्रम सिर्जना गर्ने भन्दै यस्ता समाचारप्रति सचेत रहन आग्रह गरेको छ । सचिवालयले तथ्य पुष्टि नगरी प्रसारित गरिएका सूचनाबाट भ्रमित नहुन कार्यकर्ता तथा शुभेच्छुकहरूलाई अनुरोधसमेत गरेको छ ।