वैदेशिक रोजगारीमा मृत्युको शृङ्खला भयावह, १० महिनामै झण्डै १३ सय नेपालीले गुमाए ज्यान

Breaking Nepal

बुधबार ,जेष्ठ २७ , २०८३ १५:०३
फाइल तस्बिर

काठमाडौं / वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको संख्या निरन्तर बढ्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामै एक हजार २९४ जना नेपाली श्रमिकको विदेशमा मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा विभिन्न श्रम गन्तव्य मुलुकमा कार्यरत नेपाली श्रमिकको मृत्यु भएको हो । वैशाख महिनामा मात्रै १५३ जना नेपालीको ज्यान गएको बोर्डको तथ्यांकले देखाएको छ ।

बोर्डका अनुसार पछिल्लो १० वर्ष १० महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको संख्या ११ हजार ९८८ पुगेको छ । यसले विदेशमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, स्वास्थ्य तथा कार्यपरिस्थितिबारे गम्भीर प्रश्न उठाएको छ ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा ८१६ जना नेपाली श्रमिकको मृत्यु भएको थियो । यो संख्या २०७३/७४ मा ७५६, २०७४/७५ मा ८२१, २०७५/७६ मा ७५४ तथा २०७६/७७ मा ६६१ रहेको थियो ।

कोभिड–१९ महामारीपछिको अवधिमा भने मृत्यु संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा १ हजार २४२ जना, २०७८/७९ मा १ हजार ३९५ जना, २०७९/८० मा १ हजार २०८ जना, २०८०/८१ मा १ हजार ४५८ जना तथा २०८१/८२ मा १ हजार ५८३ जना नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका थिए ।

चालु आर्थिक वर्षको वैशाखसम्मको तथ्यांकले पनि मृत्यु दर उच्च रहेको संकेत गरेको छ । यदि यही प्रवृत्ति कायम रहे चालु वर्षको अन्त्यसम्म मृत्यु संख्या पुनः उच्च स्तरमा पुग्न सक्ने देखिन्छ ।

वैदेशिक रोजगार बोर्डले मृतक श्रमिकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको भए पनि श्रमिकको सुरक्षा, स्वास्थ्य परीक्षण, कार्यस्थलको निगरानी तथा श्रम सम्झौताको प्रभावकारी कार्यान्वयनमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।