Breaking Nepal

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल ले प्रधानमन्त्री वालेन्द्र शाह ले जेठ १७ गते संसद्मा नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा ‘क्रस बोर्डर अकुपेसन’ सम्बन्धी विषयसँग जोडिएको बताएका छन्।
आजको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर स्पष्टिकरण दिँदै मन्त्री खनालले नेपाल र भारतबीचको ऐतिहासिक, मैत्रीपूर्ण र घनिष्ठ सम्बन्धलाई सम्मान गर्दै सीमा विवादका विषयहरू कूटनीतिक संवादमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनका अनुसार नेपाल–भारत खुला सीमाका केही क्षेत्रमा दशगजा आसपास ‘क्रस होल्डिङ’ को अवस्था रहँदै आएको छ, जहाँ दुवै देशका स्थानीय बासिन्दाले आपसी समझदारीका आधारमा सीमापार खेतीपाती गर्दै आएका छन्। प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा यही अवस्थालाई संकेत गर्न खोजेको मन्त्री खनालको भनाइ थियो।
प्रधानमन्त्रीले सीमासम्बन्धी विषयमा जवाफ दिने क्रममा नेपालको सीमा निर्धारण सुगौली सन्धि सँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकाले संयुक्त अधिराज्य को नाम उल्लेख गरेको पनि उनले स्पष्ट पारे।
“नेपालले सीमा समस्याको समाधानका लागि कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको होइन,” मन्त्री खनालले भने। उनका अनुसार ऐतिहासिक सन्दर्भ, अभिलेख वा थप प्रमाण उपलब्ध भएमा ती समस्या समाधान प्रक्रियामा सहयोगी हुन सक्ने भएकाले आवश्यक परे त्यसको उपयोग गर्न सकिने सम्भावनातर्फ प्रधानमन्त्रीले संकेत गरेका हुन्।
मन्त्री खनालले सीमा सम्बन्धी विषयहरू ऐतिहासिक सन्धि, नक्सा र द्विपक्षीय समझदारीका आधारमा सम्बोधन गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.




