एमसीसीअन्तर्गत २९७ किमि प्रसारण लाइन र दुई ठूला सबस्टेशन निर्माणको औपचारिक सुरुवात

Breaking Nepal

बुधबार ,जेष्ठ २७ , २०८३ १७:२०

काठमाडौं,  मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले बुधबार एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको महत्वपूर्ण चरण सुरु गर्दै रातमाटे र न्यू दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्यको शिलान्यास गरेको छ।

नुवाकोटस्थित रातमाटेमा आयोजित कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, अमेरिकी सरकार तथा एमसीसीका प्रतिनिधि, विकास साझेदार, निर्माण व्यवसायी, स्थानीय सरोकारवाला र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

यो आयोजना अमेरिकी सरकारको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा सञ्चालन भइरहेको छ। परियोजनाले अन्तर्राष्ट्रियस्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माणसँगै सडक सञ्जाल स्तरोन्नतिमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत तीनवटा ४०० केभी क्षमताका सबस्टेशन र ३१५ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना रहेको छ। तीमध्ये बुधबार शिलान्यास गरिएका प्रसारण लाइन खण्डहरूमा लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा, रातमाटे–न्यू दमौली तथा न्यू दमौली–न्यू बुटवल समावेश छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले ऊर्जा सुरक्षाको सुनिश्चितता, औद्योगिक विकास र लगानी विस्तारका लागि बलियो प्रसारण पूर्वाधार अपरिहार्य रहेको बताए। उनले यो परियोजना नेपालको आर्थिक भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण लगानी भएको उल्लेख गरे।

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले परियोजनाले नेपालको ऊर्जा क्षेत्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने विश्वास व्यक्त गरे। एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले पनि यसले नेपालको ऊर्जा सम्भावना उपयोग गर्न र क्षेत्रीय ऊर्जा व्यापारलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए।

नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले निर्माणाधीन पूर्वाधारहरू राष्ट्रिय प्रसारण सञ्जालको अभिन्न हिस्सा भएको उल्लेख गर्दै यसले विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो बनाउने बताए।

परियोजनाअन्तर्गत रातमाटे र न्यू दमौली सबस्टेशन निर्माणको जिम्मेवारी टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ। त्यस्तै, लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा खण्ड आशिष–बोझ्लर संयुक्त उपक्रम, रातमाटे–न्यू दमौली खण्ड एञ्जेलिक–स्किपर संयुक्त उपक्रम तथा न्यू दमौली–न्यू बुटवल खण्ड वाइबा–सालसर संयुक्त उपक्रमले निर्माण गर्नेछन्।

निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली नेपालका सबैभन्दा ठूलो उच्च-भोल्टेज क्षमताका सबस्टेशनमध्ये पर्ने अपेक्षा गरिएको छ।