प्रधानमन्त्रीले गल्ती नसच्याएसम्म संसदको गतिरोध अन्त्य हुँदैन : एमाले

Breaking Nepal

बुधबार ,जेष्ठ २७ , २०८३ १७:३०

काठमाडौं — नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्रीले संसदमा आएर माफी नमागेसम्म एमालेले संसद अवरोध कायम राख्ने बताएका छन्।

उनले प्रधानमन्त्रीले संसदमा दिएको “नेपालले पनि भारतको भूभाग मिचेको छ” भन्ने अभिव्यक्ति रेकर्डबाट नहटेसम्म तथा सभामुखले प्रधानमन्त्रीलाई यसबारे रुलिङ नगरेसम्म संसदको कामकारबाही अघि नबढ्ने चेतावनी दिए।

बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि गम्भीर प्रश्न उठाउँदै पार्टी सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकेको आरोप लगाए। उनले देशको स्वाधीनता र सार्वभौमिकतासँग सम्बन्धित विषयमा स्पष्टता नआएसम्म संसदका अन्य एजेन्डामा जान नसकिने बताए।

“प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहट्दासम्म संसदको कारबाही अगाडि बढ्न सक्दैन। देश पहिला हो, देशको स्वाधीनता प्रमुख कुरा हो,” बादलले भने, “हामी फरक ढंगले आफ्नो विरोध जारी राख्नेछौँ। परराष्ट्रमन्त्रीको वक्तव्यमा हामी सहमत हुने अवस्थामा छैनौँ।”

उनले थपे, “देशको स्वाधीनता सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले त्यससँग सम्बन्धित विषय संशोधन नगरी अन्य एजेन्डामा जान सकिँदैन। वर्तमान संकटको समाधान बिना त्यसरी अघि बढ्न सम्भव छैन।”

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले विभिन्न अन्तर्वार्तामा दिएका अभिव्यक्तिलाई उल्लेख गर्दै बादलले नेपाल कतै “पाकिस्तानी मोडल”तर्फ जान सक्ने संकेत देखिन थालेको हो कि भन्ने आशंका पनि व्यक्त गरे।