Breaking Nepal

दमक / प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्रका स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका छन् । निर्वाचित भएर गएपछि एकपटक पनि फर्किएर नआएको उनीहरुको गुनासो छ । वर्षायाम सुरु भएसँगै झापाको दमक नगरपालिका–९ र १० जोड्ने मुख्य सडक पुनः हिलाम्मे बनेपछि स्थानीय बासिन्दाले सडकमै धान रोपेर अनौठो तर सशक्त विरोध जनाएका छन् । वर्षौंदेखि निर्माण र स्तरोन्नतिको प्रतीक्षामा रहेको सडकको दुरावस्थाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन स्थानीयले सडकलाई नै खेतमा परिणत गर्दै सांकेतिक आन्दोलन गरेका हुन् ।
वर्षाको पानी जमेर सडकभरि ठूला–ठूला खाल्डाखुल्डी बनेपछि दैनिक आवतजावत प्रभावित भएको छ। सडक प्रयोगकर्ताले मोटरसाइकल, सवारीसाधन त परको कुरा, पैदल हिँड्नसमेत कठिनाइ भोग्नुपरेको गुनासो गरेका छन् । पटक–पटक माग र दबाब दिँदा पनि कुनै निकायले चासो नदिएपछि स्थानीय धानका बेर्ना बोकेर सडकमा उत्रिएका हुन् ।
स्थानीय किसान नगेन्द्रमणि न्यौपानेले चुनावका बेला विकासका ठूला आश्वासन बाँड्ने राजनीतिक नेतृत्व जनप्रतिनिधि बनेपछि जनजीवनसँग प्रत्यक्ष जोडिएका समस्याबाट विमुख हुने गरेको आरोप लगाए । “वडा, नगरपालिका, प्रदेश सरकारदेखि संघीय सरकारसम्म धायौँ, तर सडकको समस्या जस्ताको तस्तै छ। त्यसैले हामीले सडकको वास्तविक अवस्था देशलाई देखाउन धान रोप्ने निर्णय गरेका हौँ,” उनले भने ।
स्थानीय सुरेश धिमालका अनुसार वर्षा सुरु भएसँगै सडक हिँड्नै नसकिने अवस्थामा पुगेको छ। “विद्यालय जाने बालबालिका दैनिक हिलोमा लड्छन्, मोटरसाइकल चलाउन जोखिम हुन्छ, तर समस्या समाधानको जिम्मेवारी कसैले लिँदैन,” उनले गुनासो गरे ।
पदम भण्डारीले बिरामी पर्दा एम्बुलेन्ससमेत गाउँसम्म पुग्न नसक्ने अवस्था सिर्जना भएको बताए। “सडकमा धान रोप्नु हाम्रो रहर होइन, बाध्यता हो,” उनले भने ।
स्थानीय केदार खतिवडाले जनताको धैर्यको सीमा समाप्त हुँदै गएको उल्लेख गर्दै यो आन्दोलन राज्य संयन्त्रको उदासीनताविरुद्धको चेतावनी भएको बताए। त्यस्तै भेषराज थापाले आन्दोलन कुनै राजनीतिक उद्देश्यबाट प्रेरित नभई आधारभूत पूर्वाधारको मागका लागि गरिएको स्पष्ट पारे।
दमक क्षेत्र राजनीतिक दृष्टिले पनि चर्चित मानिन्छ । देशका प्रमुख राजनीतिक नेतृत्वसँग जोडिएको क्षेत्र भए पनि सडक पूर्वाधारको अवस्था भने अझै सुधार हुन नसक्नु विडम्बनापूर्ण रहेको स्थानीयको भनाइ छ। उनीहरूका अनुसार हिउँदमा धुलो र वर्षामा हिलोको समस्या झेल्दै आएका बासिन्दा अब प्रतीक्षाको अवस्थामा नरहेको बताउँछन् ।
स्थानीयका अनुसार सडकको दुरावस्थाले विद्यार्थीको शिक्षा, किसानको उत्पादन बजारसम्म पुर्याउने प्रक्रिया, स्वास्थ्य सेवा पहुँच तथा स्थानीय आर्थिक गतिविधिमाथि प्रत्यक्ष असर परेको छ । विशेषगरी कृषि उत्पादनमा निर्भर परिवारले वर्षायाममा बजार पहुँच गुमाउँदा आर्थिक नोक्सानी व्यहोर्नुपरेको गुनासो गरेका छन् ।
सडक स्तरोन्नति तथा कालोपत्रेको काम तत्काल सुरु नगरे नगरपालिका घेराउ, धर्ना तथा थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाइने स्थानीयले चेतावनी दिएका छन् । उनीहरूले सडक निर्माणलाई अब राजनीतिक भाषणको विषय नभई नागरिकको आधारभूत अधिकारको रूपमा लिनुपर्ने माग गरेका छन् ।
स्थानीयको सडकमा धान रोप्ने आन्दोलनले पूर्वाधार विकासका अपूरा प्रतिबद्धता, सुस्त कार्यान्वयन र जनअपेक्षाबीच बढ्दो दूरीलाई पुनः उजागर गरेको छ । अब सम्बन्धित निकायले यसलाई सामान्य विरोधका रूपमा होइन, ग्रामीण पूर्वाधार व्यवस्थापनप्रतिको गम्भीर जनअसन्तुष्टिको संकेतका रूपमा लिनुपर्ने देखिन्छ ।