फास्ट ट्र्याकमा पिकअप दुर्घटना : पूर्वहवल्दार चालक र इन्जिनियरको मृत्यु

Breaking Nepal

बिहीबार ,जेष्ठ २८ , २०८३ ०९:१३

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमार क्षेत्रमा रहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गतको सडकमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब १०ः३० बजे माण्डु हाइड्रोपावर क्षेत्रबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए । बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार तथा सवारी चालक रहेको र यादव फास्ट ट्र्याक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र नेपाली सेनाको काठमाडौं–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट संयुक्त उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो । उद्धार टोलीले दुवै जनालाई गम्भीर अवस्थामा बाहिर निकाली उपचारका लागि पठाएको थियो ।

रातिको समय तथा दुर्गम भूगोलका कारण घाइतेलाई बिहीबार बिहान मात्रै हेटौंडा अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।