रास्वपामा ‘प्यानल राजनीति’ रोक्न कार्कीको आग्रह, कोशी अधिवेशनअघि एकताको सन्देश

Breaking Nepal

बिहीबार ,जेष्ठ २८ , २०८३ १२:४०

विराटनगर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा मोरङ–३ का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले पार्टीभित्र आन्तरिक निर्वाचनलाई प्यानलगत प्रतिस्पर्धा र गुटबन्दीतर्फ लैजान खोज्ने गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । कोशी प्रदेश अधिवेशनअन्तर्गत निर्वाचन अघि  सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले रास्वपाको संगठनात्मक संस्कृतिलाई कमजोर बनाउने कुनै पनि अभ्यास स्वीकार्य नहुने बताएका छन् ।

कार्कीले रास्वपामा औपचारिक रूपमा प्यानल प्रणाली नरहेको उल्लेख गर्दै निर्वाचनका क्रममा केही व्यक्तिले उम्मेदवारका पक्षमा प्रचार–प्रसार गर्दै हिँड्नु नै प्यानल संस्कृतिको प्रारम्भिक संकेत भएको टिप्पणी गरे । उनले उम्मेदवारले आफ्ना लागि आफैँ मत माग्नु स्वाभाविक भए पनि अन्य व्यक्तिले उम्मेदवारको प्रचार गर्ने वा पम्प्लेट बोकेर मत माग्ने अभ्यासले अनावश्यक ध्रुवीकरण निम्त्याउन सक्ने चेतावनी दिए ।

उनले पार्टी विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका नेता–कार्यकर्ताको साझा मञ्च बनिसकेको उल्लेख गर्दै विगतका राजनीतिक पहिचान र सम्बन्धलाई आधार बनाएर विभाजन सिर्जना गर्ने प्रयासबाट सचेत रहन आग्रह गरेका छन् । रास्वपा अहिले ‘सप्तकोशी’ जत्तिकै विशाल राजनीतिक धारामा रूपान्तरण भइसकेको दाबी गर्दै उनले विभिन्न नदी मिसिएपछि मूल स्रोत छुट्याउन खोज्नु जस्तै पुराना राजनीतिक सम्बन्धको चर्चा गर्नु निरर्थक हुने बताए ।

कार्कीका अनुसार पार्टीमा आबद्ध भइसकेपछि कसले कुन दलबाट यात्रा सुरु गरेको थियो भन्ने विषयभन्दा साझा उद्देश्य र राजनीतिक गन्तव्य महत्वपूर्ण हुन्छ। उनले पुराना राजनीतिक कथा र पृष्ठभूमिको बहस समाप्त भइसकेको भन्दै अब सबै शक्ति पार्टीको संस्थागत विकास र राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन् ।

कोशी प्रदेशको राजनीतिक भूमिकाबारे पनि टिप्पणी गर्दै उनले व्यक्तिकेन्द्रित राजनीतिबाट माथि उठेर नीति, विचार र सुशासनमा आधारित राजनीतिक संस्कृतिको नेतृत्व गर्ने अवसर प्रदेशसँग रहेको बताए । विगतमा व्यक्तिको नाम र प्रभावका आधारमा राजनीति हुने गरेको स्मरण गर्दै उनले अब राष्ट्रिय राजनीतिक बहसलाई नीतिगत दिशातर्फ डोर्‍याउने उदाहरण कोशी प्रदेशले प्रस्तुत गर्नुपर्ने उल्लेख गरेका छन् ।

रास्वपाको कोशी प्रदेश अधिवेशन नजिकिँदै गर्दा कार्कीको अभिव्यक्ति पार्टीभित्र आन्तरिक एकता, स्वस्थ प्रतिस्पर्धा र संस्थागत अभ्यासलाई बलियो बनाउने सन्देशका रूपमा हेरिएको छ ।