Breaking Nepal

विराटनगर / नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग (टीबी) को संक्रमण र मृत्युदर उल्लेख्य रूपमा घटाउने तथा सन् २०५० सम्म नेपाललाई ‘टीबी–फ्रि राष्ट्र’ घोषणा गर्ने राष्ट्रिय लक्ष्य अघि सारेसँगै विराटनगर महानगरपालिकाले ‘टीबी–फ्रि पालिका’ अभियानलाई तीव्रता दिएको छ ।
आर्थिक वर्ष २०८०/८१ देखि टीबी–फ्रि पालिका छनोटमा परेको विराटनगर महानगरपालिकाले समुदायस्तरमा रोगको प्रारम्भिक पहिचान, परीक्षण र उपचार पहुँच विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा महानगरपालिका र नेपाल क्षयरोग निवारण संस्था (नाटा) मोरङ शाखाबीचको साझेदारीमा अभियानलाई थप प्रभावकारी बनाइएको छ ।
अभियानअन्तर्गत महानगरका वडा नम्बर ५, ६, ११, १५, १६, १८ र १९ का सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकालाई क्षयरोग सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ । त्यसपछि स्वयंसेविकाहरूले दुई–दुई दिनसम्म घरदैलो अभियान सञ्चालन गरी क्षयरोगका सम्भावित बिरामीहरूको पहिचान गरेका छन् ।
पहिचान गरिएका शंकास्पद बिरामीहरूलाई खकार संकलन शिविरमा सहभागी गराई नमुना परीक्षणका लागि नेपाल क्षयरोग निवारण संस्थाको प्रयोगशालामा ल्याइएको छ । ती नमुनाको जिन एक्सपर्ट परीक्षणमार्फत क्षयरोगको प्रारम्भिक निदान प्रक्रिया अघि बढाइएको संस्थाले जनाएको छ ।
यसैगरी, प्रत्येक वडामा विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको छ । चिकित्सकको सिफारिसअनुसार जिन एक्सपर्ट परीक्षणबाट रोग पुष्टि नभए पनि क्षयरोगको उच्च सम्भावना रहेका बिरामीलाई संस्थामार्फत निःशुल्क एक्स–रे परीक्षणको व्यवस्था गरिएको छ । एक्स–रे परीक्षणका लागि संस्थामा आउने बिरामीलाई स्थानीय यातायात खर्चसमेत उपलब्ध गराइएको छ ।
समुदायस्तरमा सीमित नरही अभियानलाई विभिन्न पेशागत तथा जोखिम समूहसम्म विस्तार गरिएको छ । ट्राफिक प्रहरी, कारागारका कैदीबन्दी, उद्योग तथा कारखानाका श्रमिक र आमा समूहहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ भने सम्भावित बिरामीहरूको खकार संकलन कार्यसमेत गरिएको छ ।
महानगरलाई पूर्ण रूपमा क्षयरोगमुक्त बनाउने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि अभियानलाई निरन्तरता दिने तयारी गरिएको छ । प्रत्येक वडाका हरेक घरधुरीमा पुगेर स्वास्थ्य अवस्था मूल्याङ्कन गर्दै ‘टीबी–फ्रि घर’ घोषणा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
यसैबीच, विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्षयरोग निवारण संस्थाले सञ्चालन गरेको डीआर (ड्रग–रेजिस्टेन्ट) आवास गृहमा उपचाररत बिरामीहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमसमेत सञ्चालन गरिएको छ। संस्थाका अनुसार २०८३ जेठ १ गतेदेखि ४५ दिने सिलाइ–कटाइ तालिम सुरु गरिएको छ ।
आर्थिक रूपमा कमजोर तथा लामो उपचार प्रक्रियाबाट गुज्रिरहेका बिरामीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिमले उनीहरूको आयआर्जन क्षमता अभिवृद्धि गर्नुका साथै उपचारपछिको सामाजिक तथा आर्थिक पुनःस्थापनामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल क्षयरोग निवारण संस्था (नाटा) मोरङ शाखाका सचिव भविषकुमार श्रेष्ठका अनुसार समुदायस्तरमा पहुँच विस्तार, प्रारम्भिक पहिचान र समयमै उपचार सुनिश्चित गर्न सकेमा विराटनगरलाई क्षयरोगमुक्त महानगर बनाउने लक्ष्य हासिल गर्न महत्त्वपूर्ण टेवा पुग्नेछ ।