Breaking Nepal

काठमाडौं / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार पनि बिक्री दबाब कायम रहँदा बजार लगातार ओरालो लागेको छ । यस दिन नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा बन्द भएको छ ।
बजार घटेसँगै अधिकांश कम्पनीका लगानीकर्ताले नोक्सानी व्यहोरेका छन् । कारोबारमा सहभागी कम्पनीमध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा लगानीकर्ताको सक्रियता पनि कमजोर देखिएको छ । बिहीबार कुल ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटकको किनबेचमार्फत कारोबारमा आएको नेप्सेले जनाएको छ।
बजार समग्र रूपमा घटे पनि केही कम्पनीका लगानीकर्ताले उल्लेखनीय प्रतिफल हात पारेका छन् । सोपान फर्मास्युटिकल्स, एपालो हाइड्रोपावर, बोटलर्स नेपाल (बालाजु), अपर लोहोरे खोला हाइड्रोपावर तथा पिपुल्स हाइड्रोपावरका लगानीकर्ता उच्च कमाउने सूचीमा परेका छन् ।
समूहगत प्रदर्शनतर्फ भने मिश्रित अवस्था देखिएको छ। होटेल तथा पर्यटन समूह र म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूहमा हरियाली देखिए पनि बाँकी ११ उपसमूह राताम्मे बनेका छन् । विशेषगरी बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत् तथा लगानी समूहमा आएको गिरावटले समग्र बजारलाई दबाबमा राखेको देखिन्छ ।
लगातारको गिरावट र घट्दो कारोबार रकमले लगानीकर्तामा अझै पनि प्रतीक्षाको मनोविज्ञान कायम रहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ । बजारमा नयाँ उत्साह सिर्जना गर्ने सकारात्मक उत्प्रेरकको अभावका कारण नेप्से अझै स्थिर दिशाको खोजीमा रहेको देखिएको छ ।