सब–स्टेशनको बहानामा विद्युत संकट छोप्ने प्रयास, जीर्ण संरचनाले विराटनगरमा विद्युत आपूर्तिमा समस्या

Breaking Nepal

pen
अनुज सापकोटा
बिहीबार ,जेष्ठ २८ , २०८३ १८:०६

विराटनगर / प्रचण्ड गर्मीसँगै विराटनगरमा विद्युत आपूर्तिको समस्या गम्भीर बन्दै गएको छ । दैनिकजसो घण्टौंसम्म विद्युत अवरुद्ध हुने, पटक–पटक ट्रिपिङ हुने र भोल्टेजमा उतारचढाव आउने समस्याले सर्वसाधारणदेखि उद्योग व्यवसायसम्म प्रभावित बनेका छन् । तर समस्या समाधानका लागि तत्काल संरचनागत सुधारमा केन्द्रित हुनुपर्ने नेपाल विद्युत प्राधिकरणले नयाँ सब–स्टेशन स्थापनाको दीर्घकालीन बहस अघि सार्दै तत्कालको दायित्वबाट पन्छिन खोजेको आरोप बढ्न थालेको छ ।

पछिल्ला केही सातायता विराटनगर तथा आसपासका क्षेत्रमा विद्युत लाइन अनियमित बनेको छ। सेवा अवरुद्ध हुँदा नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रमा सम्पर्क गर्न खोज्दा सेवाग्राहीले प्रायः प्रतिक्रिया पाउँदैनन्। केन्द्रका अधिकारीहरूको एउटै जवाफ रहने गरेको छ, ‘अत्यधिक लोडका कारण समस्या आएको हो ।’

तर उपभोक्ता र उद्योगीहरूका अनुसार समस्या केवल बढ्दो मागको नभई वर्षौंदेखि उपेक्षित संरचनाको परिणाम हो । पुराना ट्रान्सफर्मर, जीर्ण वितरण लाइन, कमजोर पोल तथा अपर्याप्त मर्मत–सम्भारका कारण विद्युत प्रणालीको भार वहन क्षमता खस्किँदै गएको उनीहरूको भनाइ छ ।

हाल विराटनगर क्षेत्रमा टंकीसिनुवारी र रानीस्थित सब–स्टेशनबाट मुख्य रूपमा विद्युत आपूर्ति हुँदै आएको छ। तर यी दुवै केन्द्रबाट प्रवाह हुने विद्युतले बढ्दो माग धान्न नसक्दा ट्रान्सफर्मर पड्किने, तारमा आगलागी हुने, सर्किटमा फल्ट देखिने तथा लाइन पटक–पटक ट्रिप हुने समस्या बढेको छ ।

यसको प्रत्यक्ष असर उपभोक्ताको दैनिकीमा परेको छ । बारम्बार विद्युत जाने–आउने समस्याका कारण इन्भर्टर, राउटर, पानी तान्ने मोटर, फ्रिज, टेलिभिजनलगायत विद्युतीय उपकरणमा क्षति पुग्न थालेको छ। विराटनगर–३ का विमल कोइरालाको पानी तान्ने मोटरको क्वाइल नै जलेपछि उनले हजारौं रुपैयाँ खर्च गरेर मर्मत गर्नुपरेको बताउँछन्। ‘मर्मत गरे पनि फेरि कहिले बिग्रिने हो भन्ने चिन्ता छ,’ उनी भन्छन् ।

बढ्दो असन्तुष्टिका बीच वितरण केन्द्रले टंकीसिनुवारी र रानी सब–स्टेशनको बीच भागमा नयाँ सब–स्टेशन निर्माणको प्रस्ताव अघि सार्ने तयारी थालेको छ । तर ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार नयाँ सब–स्टेशन निर्माण दीर्घकालीन र खर्चिलो प्रक्रिया हो । जग्गा व्यवस्थापनदेखि स्वीकृति, बजेट र निर्माणसम्म वर्षौं लाग्न सक्छ। त्यसैले तत्काल समस्या समाधानका लागि जीर्ण ट्रान्सफर्मर प्रतिस्थापन, वितरण लाइन सुदृढीकरण तथा क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

रोचक पक्ष के छ भने, वितरण केन्द्रकै क्षेत्रभित्र रहेका कतिपय ट्रान्सफर्मर तत्काल मर्मत वा प्रतिस्थापन आवश्यक अवस्थामा पुगेका छन् । यस्ता आधारभूत सुधारमा अपेक्षित सक्रियता नदेखिएको अवस्थामा नयाँ सब–स्टेशन निर्माणको प्रतिबद्धताप्रति समेत प्रश्न उठ्न थालेको छ ।

वितरण केन्द्र प्रमुख रामउद्गार साहले भने टंकीसिनुवारी र रानी सब–स्टेशनको क्षमता १६ एमभीएबाट २४ एमभीएसम्म विस्तार गरिएको दाबी गर्छन्। उनका अनुसार गर्मीयाममा विद्युत माग अस्वाभाविक रूपमा बढेकाले प्रणालीमाथि अतिरिक्त दबाब परेको छ । तथापि, क्षमता विस्तारपछि पनि ट्रिपिङ र आपूर्ति अवरोध नरोकिएकाले समस्या केवल लोडको नभई वितरण संरचनाको पनि रहेको देखिन्छ ।

जाडोयाममा करिब ७० मेगावाट विद्युत खपत हुने विराटनगर क्षेत्रमा गर्मी बढेसँगै माग १०० मेगावाटभन्दा माथि पुग्ने गरेको छ । तर दशकौं पुराना उपकरण र वितरण संरचनामाथि निर्भर प्रणालीले बढ्दो माग धान्न संघर्ष गरिरहेको अवस्था छ ।

केन्द्रका सहायक प्रबन्धक माधवप्रसाद नगरकोटीका अनुसार ३३ केभी प्रसारण लाइनमा कुनै फल्ट देखिएमा सुरक्षाका लागि स्वचालित रूपमा विद्युत आपूर्ति बन्द हुने व्यवस्था छ । उनले प्राधिकरणले सेवा विस्तारसँगै संरचना स्तरोन्नतिको काम पनि गरिरहेको दाबी गरे ।

उता उद्योग संगठन मोरङले सुनसरी–मोरङ औद्योगिक करिडोर तथा विराटनगर महानगर क्षेत्रमा भइरहेको निरन्तर ट्रिपिङ र भोल्टेज फ्लक्चुएसनप्रति गम्भीर चासो व्यक्त गरेको छ । संगठनले जेठ २१ गते ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरणका व्यवस्थापन तथा कोशी प्रदेश कार्यालयलाई पत्राचार गरी तत्काल सुधारको मागसमेत गरेको थियो ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार औद्योगिक क्षेत्रमा दैनिक १० देखि १२ पटकसम्म हुने ट्रिपिङका कारण उत्पादन प्रक्रिया प्रत्यक्ष प्रभावित भएको छ । ‘मिल र मेसिनरीमा क्षति पुग्ने, कच्चा पदार्थ नष्ट हुने, उत्पादन रोकिँदा श्रमिक निष्क्रिय बस्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने ।

विद्यार्थी, कर्मचारी, गृहिणी तथा व्यवसायी सबै विद्युतको अनियमितताबाट प्रभावित भइरहेका बेला उपभोक्ताहरूको अपेक्षा स्पष्ट छ, दीर्घकालीन योजना आवश्यक भए पनि तत्कालका लागि वितरण संरचनाको सुधार, जीर्ण उपकरणको प्रतिस्थापन र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्नुपर्छ ।

अन्यथा, नयाँ सब–स्टेशनको चर्चा तत्कालीन असन्तुष्टि मत्थर पार्ने बहानामात्र बन्ने र विराटनगरको विद्युत संकट अझै लम्बिने जोखिम बढ्दै जानेछ ।