Breaking Nepal

अस्ट्रिया / सात वर्षको विश्रामपछि प्रतिस्पर्धात्मक तेक्वान्दोमा फर्किएका नेपाली मूलका खेलाडी विनय कार्कीले अस्ट्रियाको तेक्वान्दो क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै पुनः आफ्नो उत्कृष्टता प्रमाणित गरेका छन् । अथक मेहनत, दृढ संकल्प र अनुशासनको बलमा उनले पुनरागमनसँगै उल्लेखनीय सफलता हासिल गर्दै खेलकुद क्षेत्रमा नयाँ इतिहास रचेका हुन् ।
विश्व विजेतासमेत रहिसकेका विनयले हालसम्म ६ पटक राष्ट्रिय च्याम्पियन तथा ७ पटक स्टेट च्याम्पियनको उपाधि जितिसकेका छन् । उनको खेल जीवन केवल पदक र उपाधिमा सीमित छैन, बरु निरन्तरता, समर्पण र अन्तर्राष्ट्रियस्तरमा हासिल गरेका उपलब्धिका कारण उनी प्रेरणादायी खेल व्यक्तित्वका रूपमा स्थापित भएका छन् ।
विनयले विश्वका चार महादेशअन्तर्गत ४२ भन्दा बढी देशमा आफ्नो खेलकौशल प्रदर्शन गरिसकेका छन् । उनले १२५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै १२० भन्दा बढी पदक तथा ट्रफी आफ्नो नाममा सुरक्षित गरेका छन् ।
अस्ट्रियाको राष्ट्रिय खेलाडीको रूपमा प्रतिनिधित्व गरिरहेका विनयले विश्वकप, युरोपियन कप तथा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघद्वारा मान्यता प्राप्त प्रतिष्ठित जी–१ र जी–२ स्तरका प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै उल्लेखनीय सफलता हासिल गरेका छन् । यी प्रतियोगिताहरूमा प्राप्त उपलब्धिले उनलाई अस्ट्रियाली तेक्वान्दोका सफल र प्रभावशाली खेलाडीमध्ये एकका रूपमा स्थापित गरेको छ ।
लामो विश्रामपछि पुनः प्रतिस्पर्धात्मक खेलमा फर्किएर नयाँ कीर्तिमान कायम गर्नु आफैंमा चुनौतीपूर्ण उपलब्धि मानिन्छ । विनयको यो सफल पुनरागमनले युवा खेलाडीहरूलाई संघर्ष, निरन्तरता र आत्मविश्वासका साथ लक्ष्यतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ ।
उनको पछिल्लो उपलब्धिले नेपाली समुदायसँगै अन्तर्राष्ट्रिय खेल जगतमा समेत गौरवको अनुभूति गराएको छ । खेल क्षेत्रमा पुर्याएको योगदान र ऐतिहासिक सफलताका लागि बिनयलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको छ ।