Breaking Nepal

विराटनगर / कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा बिहीबार मध्यराति प्रहरी टोली पुगेको घटनाले प्रदेश सरकार, प्रहरी प्रशासन र राजनीतिक वृत्तमा व्यापक तरंग सिर्जना गरेको छ । घटनाबारे मन्त्रीको सचिवालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयले फरक–फरक व्याख्या गरेपछि यसको वास्तविकतामाथि थप प्रश्न उठेको छ ।
मन्त्री पराजुलीको सरकारी निवासमा राति करिब ११ बजे प्रहरी टोली पुगेको थियो । मन्त्रीको सचिवालयले प्रहरी पर्खाल नाघेर परिसरभित्र प्रवेश गरेको तथा निवास क्षेत्रमा खोजतलाससमेत गरेको दाबी गरेको छ । घटना हुँदा मन्त्री पराजुली भने विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा सहभागी हुन गृह जिल्ला धनकुटा तथा संखुवासभा क्षेत्रमा रहेका थिए ।
मन्त्री पराजुलीले आफू जिल्ला बाहिर रहेका बेला स्थानीय बासिन्दा र कर्मचारीमार्फत घटनाबारे जानकारी पाएको बताए । उनका अनुसार प्रहरीको उपस्थितिबारे छिमेकीले जानकारी गराएपछि मात्रै आफूले घटनाको जानकारी पाएका हुन् ।
घटनापछि मन्त्रीको सचिवालयले प्रहरी गलत सूचनाका आधारमा सरकारी निवाससम्म पुगेको आरोप लगाएको छ । मन्त्रीका प्रमुख स्वकीय सचिव केदार दाहालका अनुसार स्थानीयले राति फोन गरेर निवास क्षेत्रमा प्रहरी परिचालन भएको जानकारी दिएका थिए । त्यसपछि प्रहरी नेतृत्वसँग सम्पर्क गर्दा प्राप्त सूचनाको आधारमा प्रहरी पुगेको र सूचना गलत सावित भएको जवाफ आएको उनले बताए ।
यता जिल्ला प्रशासन कार्यालय मोरङले भने घटनालाई मन्त्री लक्षित कारबाहीका रूपमा लिन नहुने स्पष्ट पारेको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार एक फरार अभियुक्त उक्त क्षेत्रमा लुकेर बसेको हुन सक्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो ।
‘फरार अभियुक्तले त्यहाँ आश्रय लिएको हुन सक्ने सूचनाका आधारमा प्रहरी पुगेको हो । मन्त्रीको निवासलाई लक्षित गरेर कुनै विशेष अपरेसन गरिएको होइन,’ कट्टेलले भने । उनले घटनामा प्रहरी र सम्बन्धित पक्षबीच पर्याप्त समन्वय तथा सञ्चार हुन नसकेको स्वीकार गर्दै व्यावसायिक कमजोरी देखिएको बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कोवित कटुवालले पनि मन्त्री निवासमा छापा मारिएको वा औपचारिक खानतलासी गरिएको दाबी अस्वीकार गरेका छन् । उनका अनुसार ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी विमल भट्टराईको खोजीका क्रममा प्रहरी टोली सो क्षेत्रमा पुगेको थियो ।
‘फरार प्रतिवादी उक्त क्षेत्रमा लुकेर बसेको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरिएको हो । खोजीका क्रममा टोली मन्त्रीज्यूको घर नजिक पुगेको मात्र हो, मन्त्रीको निवासमा छापा मारिएको वा खानतलासी गरिएको होइन,’ कटुवालले भने ।
तर प्रहरी निवासभित्र प्रवेश गरेको थियो वा थिएन भन्ने विषयमा भने सरकारी पक्ष र प्रहरी प्रशासनका भनाइ एकरूप देखिएका छैनन् । यही कारण घटनाको वास्तविक स्वरूपबारे अझै अन्योल कायम रहेको छ ।
घटनाले संघीय संसद्सम्म प्रवेश गरेको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा धनकुटाका सांसद राजेन्द्र राईले मन्त्री निवासमा प्रहरी पुगेको विषय उठाउँदै सरकारसँग स्पष्ट जवाफ मागे । मन्त्री अनुपस्थित रहेका बेला सरकारी निवासमा प्रहरी पुगेर खोजतलास गर्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न उनले सदनमा उठाएका हुन् ।
दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित एमाले नेता पराजुली हाल कोशी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् । सुरक्षा संयन्त्रको नेतृत्व तथा समन्वयसँग प्रत्यक्ष सम्बन्धित मन्त्रालय सम्हालिरहेका मन्त्रीकै सरकारी निवासमा प्रहरी पुगेको घटनाले प्रदेश सरकार र सुरक्षा निकायबीचको समन्वय, सूचना व्यवस्थापन र अधिकार प्रयोगबारे नयाँ बहस सुरु गरेको छ ।
प्रहरीले खोजीको सूचना कसबाट प्राप्त गरेको थियो, टोली निवासभित्र प्रवेश गरेको थियो वा थिएन, तथा घटनाको वास्तविक प्रकृति के थियो भन्ने विषयमा आधिकारिक रूपमा स्पष्ट विवरण सार्वजनिक हुन बाँकी छ ।