विराट मोडेल कलेजमा ३५२ नयाँ विद्यार्थीको स्वागत, उत्कृष्ट तथा प्रतिस्पर्धी परीक्षामा सफल विद्यार्थी सम्मानित

Breaking Nepal

शनिबार ,असार ६ , २०८३ १३:०६

विराटनगर / उच्च शिक्षामा गुणस्तरीय अध्ययन र प्रतिस्पर्धी क्षमताको विकासलाई प्राथमिकता दिँदै आएको विराटनगरस्थित विराट मोडेल कलेजले नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका विद्यार्थीहरूको भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले यस वर्ष विभिन्न संकायमा भर्ना भएका ३५२ जना नयाँ विद्यार्थीलाई औपचारिक रूपमा स्वागत गर्दै शैक्षिक यात्राको सफलताको शुभकामना दिएको हो । कार्यक्रममा लोकसेवा आयोग, शिक्षा सेवा आयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गरेका विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालय क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख सहपरीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईंको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा शैक्षिक उत्कृष्टता, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताले नै विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले अध्ययनप्रति गम्भीर हुन उनले आग्रह गरे ।

कार्यक्रममा कलेजका अध्यक्ष प्रा.डा. जनक अधिकारी, क्याम्पस प्रमुख अनिल मण्डल, संस्थापक पंकज मेहता, ओम राजवंशी, पंकज सिंह, श्यामदेव मेहता, रोशन राजवंशी, लक्ष्मी सिंह तथा रेणु सिंहलगायतले उत्कृष्ट विद्यार्थी र विभिन्न क्षेत्रमा सफलता हासिल गरेका विद्यार्थीलाई सम्मानपत्र, खादा तथा मालासहित सम्मान गरेका थिए ।

कलेजका निर्देशक देवीलाल महतोका अनुसार हाल कलेजमा बीएड र बीबीएस संकायअन्तर्गत १ हजार ११५ जना विद्यार्थी अध्ययनरत छन् । उनले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै अनुसन्धान, नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा रोजगारमुखी शिक्षामा कलेजले विशेष जोड दिइरहेको बताए ।

कार्यक्रमकै अवसरमा बीएड र बीबीएस कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका ७५ जना विद्यार्थीलाई विदाइ गरिएको थियो । विदाइ गरिएका विद्यार्थीलाई आगामी व्यावसायिक तथा शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो ।

पछिल्लो समय मोरङसहित पूर्वी नेपालमा उच्च शिक्षाप्रति आकर्षण बढ्दै जाँदा निजी तथा सामुदायिक कलेजहरूबीच गुणस्तरीय शिक्षाका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । विराट मोडेल कलेजले शैक्षिक उपलब्धि, प्रतिस्पर्धी परीक्षामा सफल विद्यार्थी उत्पादन तथा विद्यार्थीमैत्री वातावरणका कारण क्षेत्रीय स्तरमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको जनाएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।