Breaking Nepal

झापा / नेपाल–भारत सीमामा भन्सार तथा सुरक्षा निगरानी कडा बनाइएपछि भारतीय सीमावर्ती बजार पानीट्याँकीमा नेपाली ग्राहकको आवागमन उल्लेख्य रूपमा घटेको छ। यसको प्रत्यक्ष लाभ झापाका स्थानीय बजारले लिन थालेका छन्।
विगतमा मूल्य सस्तो हुने आकर्षणका कारण झापा, मोरङ र सुनसरीका हजारौं उपभोक्ता दैनिक रूपमा भारतको पानीट्याँकी बजार पुग्ने गर्थे। तर पछिल्ला महिनामा दुवै देशका सुरक्षा निकायले सीमा नाकामा जाँच प्रक्रिया कडा बनाएपछि उपभोक्ताको किनमेलको गन्तव्य फेरिएको देखिन्छ।
व्यापारीहरूका अनुसार भारतबाट सामान ल्याउँदा अनिवार्य स्क्यानिङ, लामो प्रतीक्षा र भन्सार प्रक्रियाको कडाइले सीमापार किनमेलको आकर्षण घटेको छ। परिणामस्वरूप उपभोक्ताहरू स्थानीय बजारमै फर्किन थालेका छन्।
धुलाबारीका व्यवसायीहरू भन्छन्, विगतमा भारतीय बजारतर्फ जाने ग्राहक अहिले बिर्तामोड, धुलाबारी, काँकरभिट्टा लगायतका बजारमा खर्च गर्न थालेका छन्। यसले लामो समयदेखि दबाबमा रहेको स्थानीय व्यापारलाई केही राहत दिएको छ।
सरकारले भन्सार महसुल ऐन, २०८१ अनुसार यात्रुले पाँच सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था जेठ १५ गतेदेखि प्रभावकारी रूपमा कार्यान्वयन गरेपछि सीमाक्षेत्रको व्यापारिक गतिविधिमा नयाँ मोड आएको हो। सुरक्षा निकायले समेत नाकामा निगरानी बढाएका छन्।
यसअघि खुला सीमाको सुविधालाई प्रयोग गर्दै सानो परिमाणमा हुने अनौपचारिक व्यापार तथा सामान ओसारपसार व्यापक रहेको व्यवसायीहरूको गुनासो थियो। अहिलेको कडाइले त्यस्ता गतिविधिमा उल्लेख्य कमी आएको स्थानीयहरूको दाबी छ।
उता, नेपाली ग्राहकमा अत्यधिक निर्भर रहेको पानीट्याँकी बजार भने व्यापारिक मन्दीको चपेटामा परेको छ। भारतीय व्यवसायीहरूका अनुसार दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामग्री, कृषि सामग्री तथा खाद्यान्न खरिदका लागि आउने नेपाली उपभोक्ताको संख्या तीव्र रूपमा घटेको छ। यसले व्यापारिक कारोबारमा उल्लेखनीय गिरावट ल्याएको उनीहरूको भनाइ छ।
विशेषगरी दसैं–तिहार, विवाह तथा अन्य सामाजिक अवसरमा नेपाली ग्राहकको भीडले भरिने पानीट्याँकी बजार अहिले सुनसानजस्तै बन्न थालेको व्यापारीहरू बताउँछन्। कतिपय व्यवसायीले दैनिक कारोबार न्यून हुँदा व्यवसाय सञ्चालनमै चुनौती थपिएको गुनासो गरेका छन्।
व्यापार विश्लेषकहरूका अनुसार सीमामा गरिएको कडाइले एकातिर राजस्व चुहावट नियन्त्रण र अनौपचारिक व्यापार न्यूनीकरणमा सहयोग पुगेको छ भने अर्कोतर्फ स्वदेशी बजारमा उपभोक्ता खर्च पुनः केन्द्रित हुन थालेको संकेत दिएको छ। यदि यो प्रवृत्ति दीर्घकालसम्म कायम रह्यो भने सीमावर्ती नेपाली बजारको व्यापारिक गतिविधि थप सुदृढ हुन सक्ने अपेक्षा गरिएको छ।
यद्यपि, घरायसी प्रयोजन तथा विवाह–व्रतबन्धजस्ता विशेष आवश्यकताका सामान आयातमा भने सहजीकरण गरिएको मेची भन्सार कार्यालय तथा सुरक्षा निकायहरूले बताएका छन्।